काठमाडौं,२९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनभावना अनुरुप चल्न नसकेको आरोप लागिरहेका बेला शीर्षनेता भने निजी इवी साँध्ने दिशामा अग्रसर हुन थालेका छन् । पार्टीको अनुशासन समितिलाई आफ्नो रिस साँध्ने हतियारका रुपमा प्रयोग गर्न नेताहरु एकजुट भएपछि हलचल मच्चिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको निजी स्वार्थ पूरा गर्ने हतियारका रुपमा अनुशासनको डण्डा चलाउने तयारी भएसँगै समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका हुन् । गत चैत ४ गते केन्द्रीय सदस्य भीष्मराज आङदङबेको संयोजकत्वमा गठित अनुशासन समितिमा चौधरी नेता कृष्णप्रसाद सिटौला गुटको नेतृत्व गरिरहेका थिए ।
चौधरीको राजीनामा औपचारिक रुपमा पार्टी केन्द्रीय कार्यालय वा सभापति कहाँ नबुझाइएको भएपनि नेता सिटौलालाई दिइएको स्रोतको भनाई छ । यस सम्बन्धमा चौधरीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । तर विश्वस्त स्रोत भन्छ– पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, डँडेल्धुरा पार्टी सभापति कर्ण मल्ल र कैलाली कांग्रेसका नेता पुष्करनाथ ओझालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न लागिएकोमा आपत्ति जनाउँदै चौधरीले राजीनामा दिएका हुन् ।