तोलाकान्त बगाले
वालिङ, २६ फागुन ।
सोमबार वालिङ नगरभित्रका औषधी पसलहरुको अनुगमन गरिएको छ । वालिङ नगरपालिका, इलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ तथा अन्य सरोकारवालाहरुको सहभागितामा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको हो ।
चीनको बुहानबाट संक्रमणको रुपमा फैलिएको कोभिड १९ को जोखिमकारुपमा विश्व स्वास्थ्य संगठनले नेपालमा पनि संक्रमण फैलिन सक्ने बताएसँगै यसबाट बच्ने सचेतनाका लागि सामुदायिक सचेतीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाको ‘लाईन लिस्टिङ’ गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
कोभिड १९ को सन्त्रास अहिले विश्वभरी फैलिईरहेकाले यो रोग लाग्न नदिनका लागि सचेतनास्वरुप औषधी ब्यवसायीहरु, औषधी पसल सञ्चालकहरुसँग मास्क, सेनिटाईजर लगायतको कृत्रिम अभाव सिर्जना हुन नदिन र सरकारी तथा निजी क्लिनिकहरुमा कोभिड १९ को लक्षण भएका यदि कुनै विरामी आएमा वालिङ नगरपालिकाको स्वास्थ्य शाखामा पूरा विवरण उपलब्ध गराउन सुझाव दिईएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
“तपाईको स्वास्थ्य संस्थामा उपचार गराउन आउनुभएका विरामीको पूर्ण विवरण राख्नुहोस्” नगर प्रमुख खाँणले भने, “उपचारपश्चात फर्केपछि २÷४ दिनपछि पुनः निको भए नभएको यकिन गर्नुहोस् या निगरानीमा राख्नुहोस्, निको नभएमा नगरपालिकामा विवरण उपलब्ध गराउनुहोस् नगरपालिकाले आवश्यक उपचारका लागि सम्बन्धित ठाउँमा लैजाने ब्यवस्था मिलाउने छौं ।”
स्वास्थ्य संघ संस्थामा आएका विरामीको दैनिक विवरण नगरपालिकाको स्वास्थ्य शाखामा पठाउन आग्रह गरिएको नगर प्रमुख खाँणले बताए ।
देशका विभिन्न ठाउँमा औषधीजन्य बस्तु तथा अन्य दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारीका गुनासो आएपछि यस ठाउँमा कृत्रिम अभाव सिर्जना हुन नदिन र कालोबजारीलाई निरुत्साहित गर्नका लागि अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले जानकारी दिए ।
औषधी ब्यवसायीहरुले कृत्रिम अभाव सिर्जना तथा कालोबजारी वालिङमा नभएको र नगर्ने बताउँदै स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीहरुको विवरण उपलब्ध गराउने प्रतिबद्धतासमेत ब्यक्त गरेका थिए ।
“यहाँ पहिला ल्याएको मास्क बिक्री गरेर सकियो” वालिङ प्राथमिक अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले भनिन् “अहिले मगाएको आएको छैन ल्याउने ठाउँमा पनि मास्कको अभाव भएको सुनेकी छु ।”
कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राखेर अहिले ठूला ठूला सभा सम्मेलनहरु नगर्न र भीडभाडमा नजान पनि वालिङ नगरपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
यो समय मौसमी फ्लू को भएका कारण पनि सामान्य रुघाखोकी लाग्दैमा डराउन नपर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । उच्च जोखिम रहेको भन्दै संक्रमणबाट बच्न सावधानी अपनाउन तथा संक्रमण भईहालेमा उपचारको पूर्व तयारी आवश्यक रहेको उनको भनाई थियो ।