चितवन, १९ माघ ।
पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । भारतीय कुखुरा भित्रिएको भन्दै ह्याचरी व्यवसायीले केही दिन अगाडी यहाँ चल्ला नष्ट गरेपछि नेपाल पोल्ट्री सप्लायस कल्याणकारी संघले विरोध स्वरुप मासुको कृतिम अभाव सृजना गरेका हुन् । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले कुखुरा सप्लाई गर्न बन्द गरेको संघका सल्लाहाकार रामश्रवण सिंखडाले जानकारी दिए ।
सप्लायर्सहरुले ब्रोइलर कुखुराको विक्रि विरतण गर्न बन्द गरेसंगै बजारमा मासुको मुल्य समेत आकासिएको छ । अहिले नारायणगढ बजारमा प्रतिकेजी ३ सय ८० रुपैयाँमा कुखुराको मासु विक्रि भईरहेको छ । १५ दिन अघि प्रतिकेजी ३ सय २० रुपैयाँमा विक्रि भएको व्यवसायहरुले बताउँदै आएका छन् ।
ह्याचरी व्यवसायीले मंसीर २९ मंसीरदेखि ८ पुससम्म कुखुराका चल्ला उत्पादन गर्न छाडेपछि अहिले चितवनमा मासुको अभाव हुन थालेको शिंखडाले जानकारी दिए । १० दिनसम्म देशव्यापी रूपमा चलेको आन्दोलनका क्रममा व्यवसायीले करीब ४० लाख चल्ला र ४५ करोड रूपैयाँ बराबरको अण्डा नष्ट गरेका थिए ।
त्यस्तै, आन्दोलन अवधिभर चल्ला उत्पादन र ओसारप्रसारसमेत ठप्प पारिएको थियो । सोही कारण बजारमा मागअनुसारको आपूर्ति हुन नसक्दा मूल्य आकासिएको हो । व्यवसायीहरूको यो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए ।