कला राना
वालिङ, १३ माघ ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दनका लागि आयोजना गरिएको प्रथम रमाईलो मेलामा मौलिकताले दर्शकलाई आर्कषित गरेको छ । वण्डरफुल वालिङले पहिला देश अनि विदेश भन्ने नाराका साथ आयोजना गरेको रमाईलो मेलामा प्रर्दशनीमा राखिएका परम्परागत तथा मौलिक वस्तुहरुको अवलोकन गर्ने दर्शकहरुको भिड वढदै गइरहेको छ ।
मेला प्रवेश गेटमै रहेका विभिन्न होमस्टेका स्टलहरुमा राखिएका सामाग्री हेर्न दर्शकहरुको उत्साहजनक उपस्थितीले मेलाको थप आकर्षण वढदै गइरहेको छ ।
मैदान सामुदायिक होमस्टे, दाङसिङ सामुदायिक होमस्टे, पित्लेक सामुदायिक होमस्टे, बझाकोट होमस्टेमा राखिएका मौलिक वस्तुहरुका बारेमा दर्शकलहरुले चासो दिएको वडा नं. १० का वडा सदस्य झविलाल थापाले बताए । होमस्टेमा राखिएका पुराना नापतौल, सय वर्षपहिले प्रयोग गरिने घ¥यासी वस्तुहरु आजभोली यस्तै मेला, महोत्सव, र संग्राहलयमा देख्न पाईन्छ ।
होमस्टेका स्टलहरुमा राखिएका स्याखु, छत्रि, डोको, मानापाथी, डालो, पिरिङगो, मोही पार्ने धार्ने, पानस, ढेउवा, ठेकी, कोर्को, हुक्का, लाल्टिनदेखि कुखुराले अण्डा पार्ने खोलेस सम्मका नेपाली मौलिक वस्तुहरु देख्न सकिन्छन् । थापाले भने, आधुनिक जिवनशैलीले यस्ता पुराना वस्तुहरुलाई विस्तापित गरेको छ । प्रवेश गेटकै मुखमा होमस्टेका स्टलहरु हुँदा दर्शकहरु होमस्टेका बारेमा चासो राख्दछन् ।”
मेलामा आएका दर्शक होमस्टेमा जान चाहेमा व्यवस्था गरिएको घरबास कार्यक्रम व्यवस्थापक संयोजक भुपेन गुरुङले बताए । मेलामा होमस्टेका स्वाद समेत लिन सकिन्छ । होमस्टेमा बनाईने अर्गानिक स्थानीय खाना तथा खाजाको समेत व्यवस्था गरिएको गुरुङको भनाई छ । ‘रमाईलो मेलाको मुख्य उद्देश्य नै यहाँको पर्यटनलाई उजागर गर्नु हो ।’
मेला संयोजक आशिषप्रताप खांणका अनुसार मेलामा व्यापार भन्दा स्थानीय उत्पादनको प्रदशनी तथा बजारीकरण र यहाँका पर्यटकीय संभावनालाई प्रचारप्रसार गर्ने प्रयास गरिएको बताएका छन् ।
सोमबार पाँचौ दिन राष्ट्रिय कलाकार राजु गुरुङ, दिपक खड्का, प्रदिप त्रिपाठी, सविना गुरुङ, श्रीधर अधिकारी तथा स्थानीय व्याण्डले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै मंगलबार बालकलाकार कमला घिमिरे र प्रिन्स लम्साल, ढाकाराम पौडेल, पुष्कल शर्मा, सपना थापा, पुनम थापाको प्रस्तुति रहनेछ भने पप गायिका एन्जीला रेग्मी र स्थानीय व्याण्डहरुको समेत प्रस्तुति रहने प्रचारप्रसार संयोजक मणिप्रसाद अर्यालले जानकारी दिए ।
मेलामा नौमति बाजा प्रतियोगिता, खोला किनारमा खेलिने बिच भलिबल प्रतियोगिता समेत रहेको छ भने स्थानीय कृषि, पशु, हस्तकला लगायतका एक सय ५० स्टलहरु रहेका छन् ।