भवानी अधिकारी,
स्याङ्जा, १३ माघ ।
जिल्ला समन्वय समिति महासंघ नेपालको रजत महोत्सवमा सहभागी हुन आएका देशभरका जिल्ला समन्वय समितीका प्रतिनीधि मण्डललाई सोमवार फेदीखोला गाउँपालिकाले विदाइ गरेको छ । रजत महोत्सवका अवसरमा स्याङ्जामा आएका सहभागिले फेदीखोला स्थित साल्मेडांडामा रहेको गोरखा स्मारक लगायत होमस्टेमा पुगेर फर्केपछि विदाई गरिएको हो ।
महोत्सवमा सहभागी मध्ये ५० भन्दा बढी जिल्लाका प्रतिनीधिलाई फेदीखोला गाउपालिका १ स्थित पर्यटकीय स्थल गुर्दुममा थानीय बाजागाजा सहित स्वागत गरिएको थियो । जम्बो टोली झण्डै दुई सयजना भन्दा धेरैलाई हिमाल श्रृंखलाको दृश्यावलोकन गराउदै पर्यटकीय तथा साँस्कृतिक स्थल रामकोट पुरयाइएको थियो । रामकोट होमस्टेमा भएको स्वागतपछि मट्टिखानको भ्यू टावर अवलोकन गराइएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीता सुन्दास, अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापाले सबै सहभागीलाई मायाको चिनो प्रदान गरेका थिए । गाउपालिकाको पर्यटकीय स्थलहरुको तस्बिर र स्थानीय उत्पादन सुन्तला प्रदान गर्दै विदाई गरिएको हो । स्याङ्जा सुन्तला उत्पादनका लागि प्रख्यात जिल्ला हो । यहाँको प्रमुख नगदे बाली सुन्तला हो ।
पर्यटकीय स्थलको अवलोकनपछि रुकुम पश्चिम समन्वय समितिका उपप्रमुख इन्दिरा बुढामगरले गाउँपालिकाको सौन्दयर्ताले आफुलाई मोहित एवं रोमाञ्चित बनाएको बताइन । त्यसैगरि अछाम समन्वय प्रमुख नरबहादुर कुवरले पर्यटन बर्षलाई लक्षित गर्दै गाउँपालिकाले गरेको पर्यटकीय गन्तव्य गर्व गर्न लायक रहेको बताए ।
कार्यक्रममा अध्यक्ष सीता सुन्दासले स्थानीय तहले विकास गरे मात्र जिल्ला र देशमा समृद्धि प्राप्त हुने वताइन् । कार्यक्रमको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा, अध्यक्षहरु खिमबहादर क्षेत्री र हिमालयजंग बानिया, सिद्धार्थ बहुमुखी क्याम्पसका प्रमुख होमनाथ शर्माले लगायतले गाउपालिकाका रामकोट, मट्टीखान लगायत अन्य वडाहरुमा समेत पर्यटकीय गन्तब्य र होमस्टे संचालनमा रहेको जानकारी गराउदै पुन : आउन समेत आमन्त्रण गरेका थिए ।
जिल्ला समन्वय समिति महासंघ नेपालको स्थापनाको २५ बर्ष पुगेको अवसरमा स्याङ्जाले रजत महोत्सव मनाउने अवसर पाएको हो । जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास जिल्ला समन्वय समिति महासंघका पनि अध्यक्ष भएका कारण जिल्लामा रजगत महोत्सव मनाउन सहज बनेको हो ।
रजत महोत्सवका लागि स्याङ्जा लगायत ७६ जिल्लाबाट प्रमुख, उपप्रमुख र एक सदस्य सहितको सहभागिता थियो । रजत महोत्सव पुतलीबजार नगरपालिकामा शुक्रवार उदघाटन भएको थियो भने शनिवार फेदीखोलाको पर्यटकीय स्थलमा पुगेर सम्पन्न भएको थियो ।