काठमाण्डौ, २६ पौष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको छ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यद्यपि, बैठकले पार्टीको तर्फबाट सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गर्न सकेन। पार्टीको तर्फबाट सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भावी सभामुखका रूपमा अगाडि सारेका छन् भने, एकीकरण अघिको पूर्वसहमतिअनुसार सो कोटा पूर्वमाओवादीले पाउनु पर्ने अडान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रहदै आएको छ।