काठमाडौं, २१ पौष ।
नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले बहुमतको आधारमा एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले पार्टी कार्यालय सानेपामा सोमबारदेखि जिल्ला सभापतिको भेला सुरु गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर असन्तुष्ट जिल्ला सभापतिहरुले कांग्रेस नेतृत्व अनुदार र असहिष्णु भएको गुनासो गरेका छन् । सभापति देउवाइतर पक्षका जिल्ला सभापतिहरुको पार्टी कार्यालय सानेपामा सोमबारदेखि शुरु भएको भेलामा उनीहरुले चार बुँदे ध्यानाकर्षण पत्र पेश गरेका छन् ।
ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेको केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यस्तै महासमितिले पास गरेका दुई वटा मुल प्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर शुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुष १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ ।जिल्ला सभापतिहरुको ध्यानाकर्षण पत्रमा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब शुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने सभापतिहरुको माग छ । पार्टीले गरेको विधान विपरितका निर्णयहरुका बारेमा जिल्ला सभापतिलाई जानकारी गराउन भेलाको आयोजना गरिएको काग्रेस नेता डा। मिनेन्द्र रिजालले बताए ।
भेलामा ४३ जिल्ला सभापतिहरुको सहभागिता रहेको बताइएको छ । यसअघि सभापति शेरबहादुर देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेशनको मिति एकतर्फी रुपमा तोकेका थिए ।
उक्त बैठकमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह अनुपस्थित भएका थिए । सभापति देउवा एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै कांग्रेस वरिष्ठ नेता पौडेल पक्षले जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको हो ।