पोखरा, २० पौष ।
राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ९ गते हुने निर्वाचनका लागि ३ राजनीतिक दलका ५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सहायक निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले मनोनयन दर्ता गराएका छन्। श्रेष्ठले अन्य कोटाबाट र न्यौपानेले महिला कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका छन् । यस्तै न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य एवं प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ छन् भने समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छिन् ।
कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाराम खनाल रहेका छन् ।त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य छन् ।