भिरकोट, १७ पौष ।
स्याङ्जाको मध्यभागमा रहेको भिरकोट नगरपालिकाले दिगो विकासका लागि आवधिक र दिर्घकालीन योजना निर्माणका लागि अन्तिम चरणमा पुगेको छ । समृद्ध भिरकोट नगरपालिका र दिगो विकासका लागि सबै विषयगत समीतिको सहभागिता र सरोकारवाला निकायहरूसँगको सहकार्यमा निर्माण गरेको योजनाहरूलाई अन्तिम रुप दिन जिल्लाका कार्यालय प्रमुखहरु संग छलफल गरी मस्यौदा प्रतिवेदन माथि छलफल गरिएको छ ।
‘दिगो विकासका लक्ष्यहरू हासिल गर्दै संघीय सरकारको समृद्ध नेपाल सुखी नेपालीको सोचसँग तादम्यता हुने गरी नगरपालिकाले अवलम्बन गरेको समृद्ध भिरकोटको सोच हासिल गर्न पनि आवधिक र दिर्घकालीन योजनाले सहयोग पुग्नेछ । नेपालको संविधान, दिगो विकासका लक्ष्य तथा नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता, राष्ट्रिय आवधिक योजना, स्थानीयस्तरका नीति तथा कार्यक्रममार्फत प्रारम्भ गरिएका दीर्घकालीन महत्वका विषय तथा नगरका आर्थिक सामाजिक भौतिक तथा सास्कृतिक विकासको स्थितिलाई आवधिक र दिर्घकालीन योजनाका आधारहरू मानिएको छ ।
आगामी माघ महिना भन्दा अगावै अन्तिम रूप दिनेगरी सुरू गरिएको नगरपालिकाको आवधिक विकास योजना निर्माण गरी नगरपालिकाको हिँउदे अधिवेशनवाट अनुमोदन गर्ने भिरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले जानकारी दिए ।
वृहत एकीकृत शहरी विकास योजना सहितको आवधिक र दिर्घकालीन लक्ष्य सहितको योजना मस्यौदामा भिरकोट नगरपालिकाको संक्षिप्त पाश्र्वचित्र, दीर्घकालिन सोंच, लक्ष्य, उद्देश्य, रणनीति, सामाजिक, आर्थिक, भौतिक, वातावरणीय जोखिम न्यूनिकरण, संस्थागत र वित्तिय विकास आदी विषयहरु समेटेर मस्यौदा तयार पारिएको नगर प्रमुख खनालले जानकारी दिए ।
नगरपालिकाले तिनवर्षे खर्चसहितको विकास योजना, पाँचवर्षे, दशवर्षे र पच्चिस वर्षे आवधिक योजनाको मस्यौदामा विषेशगरी कृषि, पर्यटन, भौतिक विकास र शिक्षा स्वास्थ्य र व्यवस्थित शहरीकरणलाई मध्येनजर गरेर मस्यौदा तयार गरिएको वताईएको छ ।
मस्यौदा माथिको छलफल कार्यक्रममा सहभागी रहेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले जिल्लाको समग्र विकासमा स्थानीयतहको भूमिका महत्वपूर्ण हुने भएकोले प्रशासनले सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपालको संविधानले प्रत्याभुत गरेका अधिकारहरुलाई मात्र प्रयोग गरी नियमानुसार कार्य गर्नुपर्ने भएकोले कुनै काम प्रक्रियागत ढिला भएको वताउदै संविधान कार्यान्वयनको पक्षमा सबै तह गम्भिर भएर लाग्नुपर्नेमा सुझाव दिएका छन् । कार्यक्रममा सहभागिहरुवाट जिल्ला स्थित सरकारी कार्यालयहरुको काम कारवाही र प्रकृयाका वारेमा उठेका जिज्ञासाहरुको समाधान समेत प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला बन अधिकृत कोमलराज काफ्ले, प्रहरी उपरीक्षक जनार्दन जिसी, जिल्ला मालपोत अधिकृत प्रकाश पौडेल, भिरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आचार्य लगायतका कार्यालय प्रमुखको उपस्थिती रहेको थियो भने भिरकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, राजनीतिकदलका प्रमुखहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी तथा स्थानीय समाजसेवीहरुको उपस्थितीमा मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलन गरिएको थियो ।
आवधिक र दीर्घकालिन योजना निर्माण गर्नका लागि सुरुमा नगरपालिका भित्रका सरोकारवाला संग सामुहिक र वडाहरुमा विज्ञहरु पुगेर छलफल गरेपछि सामुहिक गरिएको सम्पूर्ण योजना र वडा स्तरवाट आएका योजनाहरुलाई तिन दिन सम्म वन्दीपुरमा ७४ जनाको टोलीले दिएको सुझावको आधारमा अन्तिम मस्यौदा तयार गरी पुन नगरपालिकामा प्रस्तुत गरिएको भिरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारीले हिमदुतलाई जानकारी दिए ।
नगरपालिकामा रहेका विभिन्न समस्याहरूलाई पहिचान गरी समृद्ध भिरकोट नगरपालिका बनाउन यो योजना पारित गरेपछि यसैलाई मुख्य विकासका आधार मानेर विकासमा लागिपर्ने जनप्रतिनिधिहरूले बताएका छन् ।
योजना निर्माणको सहजीकरण काठमाण्डौं स्थित स्कोलर नेपाल प्रा.लि. ले गरेको थियो । कार्यक्रम नगर प्रमुख छाँयाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको सन्चालन नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले गरेका थिए ।