स्याङ्जा, ७ पौष ।
सामान्यतया बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानूनमा बिवाह गर्न उपयुक्त भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । सरकारले बाल विवाह रोक्न नयाँ संविधानमै व्यवस्था गरेर विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ ।
बाल विवाह विरुद्धका विभिन्न प्रयास हुँदाहँदै पनि घटनामा कमी भएको देखिँदैन । स्याङ्जाको हरिनास गाउँपालिका वाड नं ६ बस्ने १४ वर्षीया एक बालिकालाई मञ्जुरी बिना बिबाह गराइएको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । गत पौष ४ गते प्रहरीमा परेको जाहेरीका आधारमा बाल बिबाह गर्ने वा गराउन सहयोग गर्ने हरिनास गाउँपालिका ६ बस्ने २७ वर्षीय सन्तबहादुर राना र ६४ वर्षीय बेलबहादुर रानालाई पक्राउ गरिएको छ ।
२७ वर्षीय सन्तबहादुर राना र १४ वर्षीया बालिकाबीच बालिकाको मञ्जुरी बिना बिबाह गराएर घरमा भित्र्याउन सहयोग गर्ने सोही ठाउँ बस्ने ४६ वर्षीया सुना राना र ६४ वर्षीय बेलबहादुर रानालाई बिबाहसम्बन्धी कसुर अन्तर्गत बालबिबाह मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नेपालको संविधानले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनेको छ । कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वतस् बदर हुने उल्लेख गरेको छ ।