पोखरा, मंसिर ४ ।
नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए ।
नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्कमण्यतालाई हामीले हेरेर मात्रै बस्न पनि भएन । अब नागरिकले भ्रष्टाचार सहदैनन्, उनीहरूमा विश्वास गुमेको बेलामा उपनिर्वाचनलाई सदुपयोग गर्नुपर्छ ।’
‘जनताले विकास चाहियो, देश भ्रष्टाचारमूक्त हुनुपर्यो भनेका छन्, निर्मला हत्या काण्डको कार्बाही कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन्, चिकित्सा शास्त्रको अध्ययनमा भईरहेको विसंगतिलाई सरकारले रोक्न सकेको छैन’, नेता रिजालले भने, ‘हामीले सरकारको यस्तै गलत रबैयालाई चिर्दै, एकताको सन्देश प्रवाह गर्न चाहेका छौं ।’
सीमा अतिक्रमणको बारेमा सरकार समयमा प्रष्ट हुन नसकेको नेता रिजालले आरोप लगाए ।
एनले निरन्तर ६० वर्षको निस्कलंकित ईमान्दारीको राजनीति गरेका कांग्रेस उम्मेदवार खेमराज पौडेललाई कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जिताउनुको विकल्प नभएको बताए ।
‘कास्कीमा धेरै मानिससंग भेट गरें, सबैलाई करको चिन्ता छ, व्यवसाय फस्टाउन सकेको छैन भनिरहेका छन्, पर्यटन क्षेत्र खाली भएको व्यवसायीले गुनासो गरीरहेका छन्’, नेता रिजालले भने, ‘होटलहरू खाली भएका छन्, पर्यटनको नारा दिएको सरकारले पर्यटन क्षेत्र नै आक्रान्त बनिरहेका छ, उपभोगमा समस्या भएको छ, हरेक बस्तु आयात गर्नुपरेको छ, बिप्रेसन आउने क्षेत्रमा कसैलाई हौसला दिन सकिएको छैन र पर्यटक आउने बेलामा यो क्षेत्र मुर्झाएर बसेको छ, अब भन्नोस् सरकारले अरु के गर्छ ?’ उनले हरेक चुनाव पहिलो हुने भएकोले यो चुनाव पनि पहिलो हो, यो पहिलो उपनिर्वाचनमा जनताले कांग्रेस उम्मेदवार पौडेललाई जिताएर पहिलो नै हुने दावी गरे ।