काठमाडौं, १७ कात्तिक । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको हो ।
बैठकले कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्रीय समितिले सर्वसम्मत रुपमा पठाए अनुसार नै भट्टराईलाई सचिवालय बैठकले उम्मेदवार अनुमोदन गरेको हो ।
यस्तै तीन वटा प्रदेश सभा सदस्यमध्ये २ वटामा नेकपाले उम्मेद्वार उठाउने र एक ठाउँमा भने राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय पनि आइतबारको बैठकले गरेको छ ।
दाङ–३ (ख) र भक्तपुर–१(क)मा आफ्नो उम्मेदवार उठाउने र बाग्लुङ–२(ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ले जानकारी दिए ।
भक्तपुर १(क)मा दवीप्रसाद ढकाल र दाङ–३(ख) मा विमला वलीलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको हो । प्रतिनिधिसभा तर्फ उम्मेदवार पाएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारी पत्नी हुन । भने दाङ –३(ख) मा उम्मेद्वार विमला वली स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन ।
दुवैको निधन भएपछि रिक्त भएको ठाउँमा उनीहरुकै पत्नीलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै सचिवालय बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।