
स्याङ्जा, असोज २१ । वालिङ नगरपालिकामा गरिएको बजार अनुगमनका क्रममा रु. २६ हजार २८१ मूल्य बराबरका म्याद गुज्रेका तथा खानयोग्य नभएका खाद्यवस्तु फेला पारी नष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा गरिएको अनुगमनमा वालिङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता रहेको थियो।
अनुगमन टोलीले वालिङका १८ होटल तथा रेष्टुरेन्ट र १८ खाद्य किराना पसल निरीक्षण गरेको थियो। टोलीले व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, नापतौल तथा प्रमाणपत्र, खाद्यवस्तुको लेबल, उत्पादन तथा उपभोग्य मिति, PAN/VAT तथा खरिद–बिक्री बिललगायतका विषयमा जाँच गरेको थियो। मिठाई पसलमा खाद्यवस्तुको गुणस्तर तथा यसअघि दिइएका निर्देशनको कार्यान्वयन अवस्थासमेत निरीक्षण गरिएको एकीकत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्माले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद गुज्रेका तथा खानयोग्य नभएका खाद्यवस्तु भेटिएपछि टोलीले तत्काल नष्ट गरेको हो। व्यवसायीलाई म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तु बिक्री नगर्न, मूल्यसूची स्पष्ट रूपमा देखिने गरी राख्न, खरिद–बिक्रीका बिल सुरक्षित राख्न तथा खाद्यवस्तुको उचित भण्डारण गर्न निर्देशन दिइएको छ।

बजार अनुगमनले व्यवसायीलाई नियम पालना गराउनुका साथै उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणमा समेत जोड दिएको छ। उपभोक्ताले खाद्यवस्तु खरिद गर्दा आकर्षक प्याकेट वा सस्तो मूल्यलाई मात्र आधार नबनाई उत्पादन तथा उपभोग्य मिति, लेबल, मूल्य, गुणस्तर र प्याकेजिङको अवस्था अनिवार्य रूपमा जाँच गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, सामान खरिद गर्दा बिल लिन, म्याद गुज्रेका वा शंकास्पद खाद्यवस्तु नकिन्न तथा त्यस्ता वस्तु बिक्री भइरहेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
सुरक्षित र गुणस्तरीय बजार निर्माण व्यवसायीको मात्र नभई उपभोक्ता, स्थानीय तह तथा नियमनकारी निकाय सबैको साझा दायित्व भएकाले नियमित बजार अनुगमनसँगै उपभोक्ता सचेतना र नागरिक खबरदारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।