
स्याङ्जा, असार ९ । स्याङ्जा जिल्लाको प्रमुख प्रवेशद्वार राम्दी–गल्याङ क्षेत्रमा पर्यटकलाई स्वागत तथा सुरक्षित यात्राबारे सचेतना दिने अभियान सुरु गरिएको छ।
अभियान अन्तर्गत भारत लगायत अन्य देशबाट स्याङ्जा प्रवेश गर्ने पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी समेटिएको पम्प्लेट वितरण गरिँदै छ। साथै सिद्धार्थ राजमार्गको साँघुरो र घुम्तीयुक्त सडकमा सुरक्षित यात्रा गर्नुपर्ने विषयमा ट्राफिक नियम सम्बन्धी जानकारी पनि दिइँदै आएको छ।

एकीकृत विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले पर्यटकलाई स्याङ्जाका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिन र सुरक्षित यात्राका लागि सचेत गराउन अभियान सुरु गरिएको बताए। उनका अनुसार सडकको अवस्था र यात्राका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्रबहादुर शाहीले सिद्धार्थ राजमार्ग हुँदै धेरै भारतीय पर्यटक यात्रा गर्ने भएकाले स्याङ्जा प्रवेश गर्नेबित्तिकै यहाँको भौगोलिक अवस्था, सडकको प्रकृति र सम्भावित जोखिमबारे जानकारी गराइँदा दुर्घटना कम गर्न मद्दत पुग्ने बताए।
पर्यटन प्रवर्द्धन, सुरक्षित यात्रा र वातावरणमैत्री पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान अत्यान्तै प्रभावकारी हुने विश्वास गरिएको छ ।