(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।
समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ ।
रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् । “रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,” कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताए । “साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन,” उनले बताए ।
उनले उत्तर कोरियाले आणविक हातहतियार विसर्जन गर्नेतर्फ ठोस कार्य गर्नसके ठूलो उपलब्धि मान्न सकिने पनि बताए । विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ ।
करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लीकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् ।