स्याङ्जा जिल्ला प्रहरी कार्यालयले सुरु गरेको नियमित पत्रकार भेटघाट कार्यक्रमले शान्ति सुरक्षा, अपराध नियन्त्रण र दण्डहीनताविरुद्धको अभियानमा नयाँ आयाम थपेको छ। सदरमुकाम वाहिर वालिङबाट सुरु भएको मासिक पत्रकार भेटघाट अभ्यास केवल सूचनाको आदान–प्रदान होइन, प्रहरीको जवाफदेहिता र पारदर्शितातर्फको प्रतिबद्धता पनि हो।
समाजमा शान्ति सुरक्षाको अनुभूति गराउनु र अपराध नियन्त्रण गर्नु प्रहरीको प्रमुख दायित्व हो। तर, प्रहरीको कार्यशैलीप्रति जनमानसमा विश्वास निर्माण गर्न, सूचनाको सहज पहुँच सुनिश्चित गर्न सञ्चारकर्मीहरूसँगको नियमित संवाद आवश्यक शर्त हो। यही यथार्थलाई आत्मसात गर्दै जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले थालेको यो प्रयास प्रसंशनीय छ।
प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रशन्नराज चौधरी र वडा प्रहरी कार्यालय वालिङका प्रमुख कालराज पण्डितको सक्रिय सहभागिता पनि यो अभ्यासलाई प्रभावकारी बनाउने संकेत हो। पत्रकारमार्फत आमनागरिकसमक्ष प्रहरी गतिविधिको विवरण प्रस्तुत गर्नु सूचना प्रवाहको मात्र विषय होइन, प्रहरी सेवा र जनताको सम्बन्ध मजबुत बनाउने संवेदनशील अभ्यास हो।
दण्डहिनताको अन्त्य, सुशासनको अभ्यास, र अपराधमुक्त समाज निर्माणका लागि प्रहरीसँगै नागरिकको विश्वास, सहयोग र निगरानी आवश्यक हुन्छ। पत्रकार भेटघाट कार्यक्रमले यही त्रिकोणीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।
यसरी, स्याङ्जा प्रहरीले चालेको यो सकारात्मक कदमलाई अरु जिल्लाका सुरक्षाका निकायहरूले पनि अनुकरण गर्नु आवश्यक देखिन्छ। सूचना प्रवाहलाई संस्थागत गर्न र जनताको आलोचना, सुझावलाई आत्मसात गर्न सकिने यस्ता मञ्चहरू लोकतान्त्रिक समाजका लागि अत्यन्तै जरुरी हुन्।
यो अभियान केवल एक मासिक कार्यक्रम होइन, प्रहरी र जनता विचको दूरी घटाउने, सहकार्यको पुल निर्माण गर्ने दीर्घकालीन अभ्यासका रूपमा लिनुपर्छ।