वालिङ – असार ६ । आँधीखोलाको नदीजन्य पदार्थ उत्खननलाई लिएर हालै उत्पन्न विवादपछि वालिङ नगरपालिकाले पत्रकार सम्मेलनमार्फत घटनाबारे स्पष्ट पारेको छ। शुक्रबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्ण खाँणले समग्र प्रक्रिया कानुन अनुसार गरिएको दाबी गर्दै, अनावश्यक हल्ला र अवरोधका कारण दुर्भाग्यपूर्ण घटना भएको बताए।
नगरपालिकाका अनुसार, सुकौंदी पुलदेखि बायाँखोला दोभान–बाह्रबिसेसम्मको खण्डमा पटक–पटक ठेक्का सूचना प्रकाशित गरिए पनि ठेक्का नलागेपछि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा नगर विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन समितिमा मेसिन प्रयोग गरी २५०० घनमिटर नदीजन्य पदार्थ निकाल्न सिफारिस गरेको थियो।
जिल्ला विपद् समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को नियम ४(४) अनुसार वालिङ–९ स्थित डुढरह नजिकको क्षेत्रको स्थलगत अनुगमन गरेपछि मेसिन प्रयोग गरी उत्खनन गर्न स्वीकृति दिएको थियो।
सोही स्वीकृतिअनुसार आर.एस. तुण्डी जे.भी. लाई भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्याङ सडक निर्माणका लागि उत्खननको अनुमति दिइएको थियो। नगर क्षेत्रमा सञ्चालित अन्य योजनाहरूको कार्य सम्पन्न गर्न नगरपालिकामा परेको निवेदनको आधारमा पनि आवश्यक सामग्री प्रदान गरिएको थियो।
तर, मिति २०८२ असार ३ गते नदी उत्खननको विषयलाई लिएर विरोध प्रकट हुँदै विरोधका क्रममा झडपसमेत भएको घटना सार्वजनिक भएको थियो। पत्रकार सम्मेलनमा नगरप्रमुख खाँणले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
नगरप्रमुख खाँणका अनुसार, वालिङ–९ निवासी मेघ आले लगायतले सूचनाको हक प्रयोग गर्दै उत्खननको निर्णय सम्बन्धी विवरण माग गरेका थिए, जुन समयमै उपलब्ध गराइएको वताएका छन्।
उता सोही उत्खननको विरोध गर्ने क्रममा निर्माण व्यवसायीको मेसिनमा व्यानर टाँसेपछि वालिङ–१० का वडा अध्यक्ष सुनिल खनालले त्यसप्रति आपत्ति जनाउँदै भनाभन भएको र सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता दिनेश तिवारी घाइते भएको बताइएको छ। तिवारीको हात भाच्चिएको र उनी हाल पोखरा फेवा सिटीमा उपचाररत छन् ।
मेघ आलेसहितका स्थानीयहरूले उत्खनन गरिएका स्थानमा रु. १० लाख बराबरको तटबन्धको ग्यारेण्टी गरिए मात्र सामग्री लैजान दिने अडान राखेपछि विवादले थप मोड लिएको नगरप्रमुखको भनाइ थियो। अब तटबन्ध निर्माणसँगै व्यक्तिगत स्वार्थको आशंका समेत उठ्न थालेको छ ।