स्याङ्जा, जेठ २४ ।
स्याङ्जाको वालिङ हुँदै चापाकोट जोड्ने मिर्दी–भीमाद वैकल्पिक राजमार्गअन्तर्गत मिर्दी–जगतभञ्ज्याङ–दार्सिङ–क्याक्मी सडकखण्डको स्तरोन्नतिको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा उक्त बजेट विनियोजन गरेको हो।
लामो समयदेखि ओझेलमा परेको यस सडक स्याङ्जा क्षेत्र नम्बर २ का संघीय सांसद धनराज गुरुङको चुनावी घोषणापत्रमा उल्लेख गरिएको थियो। सांसद गुरुङले आफूले चुनावी एजेन्डाका रूपमा उठाएको यो सडक आयोजना निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्। यस्तै, स्याङ्जा क्षेत्र नम्बर १ का सांसद राजु थापाले पनि सदनदेखि मन्त्रालयसम्म सडकको स्तरोन्नतिको लागि निरन्तर पहल गरिरहेका छन्।
चापाकोट नगरपालिकाका पूर्व नगरप्रमुख स्व. शिव गिरिको अग्रसरतामा करिब दुई दशकअघि निर्माण सुरु गरिएको यो सडक हालसम्म पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। झन्डै ५१ किलोमिटर लम्बाइको सडकमध्ये करिब १० किलोमिटर मात्रै कालोपत्रे गरिएको छ भने अधिकांश भाग अझै पनि कच्ची अवस्थामा छ। बजेटको अभाव र सम्बन्धित निकायको उदासिनताका कारण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ।
स्थानीय बासिन्दाहरूका अनुसार वर्षायाममा पहिरोका कारण सडक साँघुरो बन्दै गएको छ र आवतजावतमा समेत ठूलो समस्या हुने गरेको छ। मरम्मत सम्भार नहुँदा दैनिक आवागमनमा कठिनाइ भइरहेको छ।
जगतभञ्ज्याङ, मल्याङोट, सेखाम, चिन्नेबास, क्याक्मी, चित्रेभञ्ज्याङ हुँदै तनहुँको भानुमती, टेक्रे, अरुणोदय र भीमाद हँुदै पोखरासँग सडक सञ्जाल जोडिने भएकाले यो वैकल्पिक राजमार्गले स्याङ्जा र तनहुँबासीका लागि सहज यातायात पहुँच कायम गराउने अपेक्षा गरिएको छ।
सडक विभागले यस आयोजना लाई १२ वर्षीय योजनामा राखेको भए पनि समयमै काम अगाडि नबढ्दा अपेक्षित प्रगति हुन सकेको छैन। स्थानीय समाजसेवी विश्वास पुरीले सम्बन्धित निकायले चासो देखाएमा सडक निर्माणले गति लिने विश्वास व्यक्त गरे। बजेट विनियोजनसँगै अब सडक स्तरोन्नतिको काम अघि बढ्ने आशा गरिएको छ।