बाँके, जेठ ५ । प्लास्टिकजन्य फोहोर न्युनिकरण तथा सरसफाई प्रवर्द्धनका लागि कोहलपुर नगरपालिका वडा नम्बर ८ मा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। “प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मूल नारासहित सञ्चालन भएको उक्त कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले सरसफाईका क्रममा “तरकारीमा मिठो जिरा, लागुपदार्थ खानेको मुखमा किरा” लगायतका नारा लगाउँदै वातावरण स्वच्छ राख्न जनचेतना फैलाएका थिए। सहभागी यमुना घिमिरेले भनिन्, “अब ‘सरसफाई गरौं’ भन्दा पनि ‘फोहोर नगरौं’ भन्ने स्थायी व्यवहार निर्माण गर्न आवश्यक छ।”
सरसफाईको क्रममा विशेषगरी स्यामबहार, सुर्ती, मेघाश्री लगायतका सुर्तिजन्य पदार्थका खोल तथा प्लास्टिकजन्य फोहोर बढी भेटिएको सहभागीहरुको भनाइ थियो। कार्यक्रममा प्लास्टिकजन्य फोहोर न्यूनीकरण अभियान अन्तर्गत झण्डहा चोकदेखि पिपरी चौकसम्म सडक दायाँबायाँ सरसफाई गरिएको थियो।
उक्त अभियान बास नेपालको आयोजनामा, कोहलपुर नगरपालिका र वडा नम्बर ८ को सहकार्यमा, रेष्टलेस डेभलपमेन्ट, क्रियसन नेपाल र युथ इनोभेसनको सहयोगमा सञ्चालन गरिएको हो। बिहान ७ बजे सुरु भएको अभियान ९ बजे सम्पन्न भएको थियो।
कार्यक्रमको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष लालबहादुर रानाले सरसफाई सम्बन्धी सन्देशसहित गरिएको ब्यानर वाचन गरेर गरे। उनले समापनमा बोल्दै भने, “हाम्रो टोलको सरसफाई अभियानमा बास नेपालले देखाएको सक्रियता प्रशंसनीय छ। आगामी दिनमा पनि वडाले सहकार्य गरेर अगाडि बढ्नेछ।”
बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रम समापनमा सहभागीलाई धन्यवाद दिँदै सरसफाई सबैको दायित्व भएको उल्लेख गरिन्। “प्लास्टिकको प्रयोग आजैदेखि न्यून बनाऔं, रिसाइकल गर्ने बानी बसालौं, र वातावरण स्वच्छ राख्न योगदान पुर्याऔं,” उनले भनिन्।
बास नेपालका वन सम्पर्क अधिकृत माधव कार्कीले पनि प्लास्टिकजन्य चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै “एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लास्टिकजन्य फोहोर नजलाऔं, वायु स्वच्छ राखौं” भन्नेजस्ता विभिन्न नारा वाचन गरेका थिए।