तस्वीर : श्रीकृष्ण सिग्देल
स्याङ्जा, बैशाख ५ । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिले अन्तरप्रदेश अध्ययन अवलोकन भ्रमण अन्तर्गत लुम्विनी र वाग्मती प्रदेशका समकक्ष समितिसँग अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ।
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालको नेतृत्वको भ्रमण टोलीले वाग्मती प्रदेश सभाका अर्थ तथा विकास समिति र उद्योग, पर्यटन तथा वातावरण समितिसँग भेटघाट तथा छलफल गरेको हो।
छलफलमा वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठसहित समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा दुवै प्रदेशका समितिबीच आर्थिक विकास, योजना निर्माण, क्षेत्रीय समन्वय, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणका विषयमा अनुभव आदानप्रदान गरिएको थियो। साथै, दुबै प्रदेशका विकास रणनीति, हालको अवस्था र भविष्यका योजनाबारे विस्तृत छलफल गरिएको थियो।
गण्डकी प्रदेशको प्रतिनिधिमण्डलले वाग्मती प्रदेशको विकास मोडल, बजेट कार्यान्वयन प्रक्रिया र नीति निर्माण प्रणालीबारे अध्ययन गर्ने उद्देश्यसहित भ्रमण गरेको बताइएको छ।