प्रदिप कोइराला
स्याङ्जा २२ चैत्र ।
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाको ९ औं अधिवेशन भोली चैत्र २३ गतेदेखि जिल्ला सदरमुकाम स्याङ्जामा सुरु हुने भएको छ । अधिवेशनको उद्घाटन सदरमुकाम स्थित सिटिहलमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
एमाले स्याङ्जाले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १ सचिव १ र उपसचिव २ पदाधिकारी र १०० सदस्य गरि जम्मा १०५ जनाको जिल्ला कमिटि चयन गर्नेछ ।
अधिवेशनमा स्याङ्जा जिल्लाका ११ वटा पालिकाका ९७ वटा वडा कमिटिहरु, पार्टिका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि कुल ६ सय ३९ प्रतिनिधि रहने पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक विश्व पौडेलले जानकारी दिए ।
अधिवेशन आयोजक कमिटिले जिल्लाका सम्पदाहरु, प्रमुख उत्पादनहरु तथा प्रमुख पहिचानहरु समेटिएको नवौ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिसकेको छ । प्रतिनिधि व्यवस्थापन, अतिथि व्यवस्थापन, प्रचार प्रसार, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, खाना तथा आवाश व्यवस्थापन, प्रतिवेदन लेखन लगायतका उपसमितिहरु गठन गरि परिचालित गरिएको समेत जनाएका छन् । अधिवेशन २४ गते सम्पन्न गर्ने आयोजकको दावी छ ।
प्रतिष्ठाको लडाईमा एमाले सचिव पद्मा अर्याल, नेतृत्व आफ्नो पक्षमा ल्याउन सकस
नेकपा एमाले स्याङ्जाको अधिवेशनको पूर्व सन्ध्यामा नेताहरु नेतृत्व आफ्नो पक्षमा ल्याउन भरपुर कसरतमा छन् । नेताहरुमा देखिएको गुटगत प्रभावले नवौं अधिवेशन सर्वसम्मत नेतृत्व चयन नहुने प्रष्ट देखिएको छ ।
गण्डकीका प्रभावशाली नेता मानिएका एमाले उपमहासचिव पृथ्वीसुब्वा गुरुङ, सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको आ आफ्नै उमेद्वारहरु विच सहमतीका प्रयास भएपनि अन्तत सहमतीको प्रयास विफल भएर निर्वाचनमा जाने देखिन्छ ।
अधिवेशनका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरवाट वर्तमान जिल्ला अध्यक्ष पारश गैह्रे र सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षवाट वर्तमान जिल्ला उपाध्यक्ष राजेन्द्र डुम्रे र आठौं अधिवेशनमा पराजित नारायण मरासिनी जिल्ला अध्यक्षको प्रतिस्पर्धामा छन् । सहमती हुन नसक्ने देखिएपछि नेताहरु समुहगत प्रतिस्पर्धाका लागि गृहकार्यमा जुटेको स्रोतले जानकारी दिएको छ ।
स्याङ्जामा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्याल विच प्रतिष्ठाको लडाई देखिन्छ । आफ्नै जिल्ला भएकाले अर्याललाई जुनसुकै हालतमा आफ्नो प्रभाव देखाउनु छ भने गुरुङ पक्षधर आफ्नो समुह बलियो भएकाले कुनै हलचल नभई ढुक्कका साथ सर्वसम्मत नेतृत्व आफ्नो पक्षमा भएमात्र सहमती गर्ने नत्र निर्वाचनमा जाने लगभग पक्कापक्की निर्णयमा पुगेको देखिन्छ ।
एमाले उपमहासचिव गुरुङ समुहलाई वर्तमान जिल्ला अध्यक्ष पारश गैह्रे, गण्डकी प्रदेशका उपाध्यक्ष तथा एमाले स्याङ्जाका पुर्व अध्यक्ष मिनप्रसाद गुरुङ्, सुधिर पौडेल, सिमाकुमारी क्षेत्री, मोहन रेग्मी, विश्व पौडेल, खिम थापा, उदय श्रेष्ठ, यामबहादुर कुँवर, राजु कोइराला, सरस्वती भट्टराई, खिमनारायण मानन्धर, सुर्य कुँवर, रामविर गुरुङ, दानबहादुर थापा, विश्वनाथ अर्याल लगायतका नेताहरुले सहयोग गरिरहेका छन् भने सचिव पद्मा अर्याल र खगराज समुहमा राजेन्द्र डुम्रे, नारायण मरासिनी, सिता सुन्दास, कृष्ण खाँण, दिलिपकुमार वगाले, घनश्याम सुवेदी, शोभाकान्त पौडेल, लक्ष्मीपति पौडेल, सन्तोष केसी लगायतका नेताहरुले सहयोग गरिरहेको स्रोतले वताएको छ ।
आठौ अधिवेसनमा छुट्टै समुह बनाएर निर्वाचनमा होमिएका नारायण मरासिनी यो पटक भने अर्यालको समुहमा देखिएका छन् । एमालेमा पद्मा अर्यालको नेतृत्ववाट असन्तुष्ट देखिएका वालिङका पुण्यप्रसाद अर्याल र गल्याङका पूर्व मेयर भुपराज अधिकारी दुवैजना मौन बसेका छन् । अर्याल र अधिकारी नवौं अधिवेशनको निर्णायक हुनसक्ने आकलन समेत गरिएको छ ।
दुबै गुटविच एमाले जिल्लाको नेतृत्वको निर्वाचन निकै रोचक हुने देखिन्छ । जिल्लामा सचिव पद्मा अर्याल संग रुष्ट कार्यकर्ताहरु एकठाँउमा हुने प्रष्ट छनक देखिदा अर्याल यस पटक निकै अफ्टयारोमा देखिएकी छन् । अर्यालले अन्तिम सम्म राजेन्द्र डुम्रेको पक्षमा मरासिनी लाई ल्याउन नसके मरासिनीलाईनै गैह्रेका विरुद्धमा निर्वाचन लडाउन सक्ने आकलन समेत गरिएको छ ।