स्याङ्जा, ६ फागुन । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा ३ गतेदेखि सुरु भएको दोस्रो चापाकोट महोत्सवको अवसरमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापा मगरको स्मृतिमा यही फागुन ८ गतेवाट जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
फागुन १३ गतेसम्म सन्चालन रहने दोस्रो चापाकोट महोत्सवको आकर्षणकै रुपमा रहनेगरी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको आईतवार चापाकोटमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक राजन दर्लामीले जानकारी दिए ।
गण्डकी प्रदेशका भलिवल खेलाडी सन्तोष थापा गत कार्तिकमा भलिवल खेलेर घर फर्किदा मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो । उनकै सम्झनामा चापाकोट महोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको दर्लामीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुन्तलीटार स्थित खेलमैदानमा महोत्सव स्थल भित्र प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, दित्तिय १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न कुल १७ लाख बजेट अनुमान गरिएको छ ।
चापाकोट उद्योग वाणिज्य संघले ४ लाख, चापाकोट नगरपालिकाले ५० हजार गरी विभिन्न संस्था र देश तथा विदेशमा रहेका सहयोगी महानुभावहरुवाट भलिवल प्रतियोगितालाई सहयोग जुटाइरहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव स्थलवाट भलिवल प्रतियोगिता अबलोकन गर्न छुट्टै टिकटको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । भलिवल प्रतियोगिता फागुन ८ गते उद्घाटन भई १३ गते महोत्सव समापन संगै भलिवल प्रतियोगिता पनि समापन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
पत्रकार सम्मेलन नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनको अध्यक्षतामा सन्पन्न भएको थियो । कार्यक्रममा भलिवल संघ चापाकोटका अध्यक्ष ढालवहादुर क्षेत्री, सचिव हरीवहादुर राना लगायतको उपस्थिती रहेको थियो ।
गत ३ गतेदेखि जारी चापाकोट महोत्सवमा दर्शकको उपस्थिति वढ्दै गइरहेको छ । महोत्सवमा कृषि प्रर्दशनी, स्थानीय उत्पादन, हस्तकला पर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रत्योली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, साथै विभिन्न व्यापारिक प्रयोजनका स्टलहरु रहेका छन् ।
महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति दिनहँु भइरहेको छ । यसका अलवा प्याराग्लाईडिङ, कालीगण्डकीमा र्याफ्टिङको समेत व्यवस्था गरिएको चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक निर्मल रानाले जानकारी दिएका छन् ।
महोत्सवको आज चौथो दिनसम्म आईपुग्दा १ लाख दर्शकले मेला अवलोकन गरेका छन् भने झण्डै २ करोड वरावरको आर्थिक कारोवार भएको महोत्सव प्रचार प्रसार समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिए ।