वालिङ- ९ असोज ।
वालिङमा तिन पाङ्ग्रे अटो सन्चालनमा आएपछि सर्बसाधारणलाई छोटो दुरीको यात्रा सहज भएको छ । सर्वसाधारणलाई सजिलो गराएको अटो व्यवस्थापनमा भने नगरपालिकालाई सकस परिरहेको छ । जसका कारण झण्डै २० लाख राजश्व प्रभावित बनेको छ ।
झण्डै सात वर्षदेखि सन्चालनमा आएको तिनपाङ्ग्रे सवारी साधन अटो हालसम्म वालिङमा कति सन्चालनमा छन् भन्ने तथ्याङ्क नगरपालिकामा छैन । जिल्लाभर तिन सय १० को संख्यामा रहेको अटो वालिङमा मात्र एक सय ८० को संख्यामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अटोरिक्सा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई छ । स्थानीय सरकारले त्यसमा ध्यान दिन सकेको छैन । स्थानीय सरकारको मातहतमा अटोरिक्सा व्यवसाय आएपछि ट्राफिक प्रहरीको निगरानी पनि कम भएको छ । अहिले केही व्यवसायीले त्यसको फाइदा उठाउन समेत थालेका छन् ।
जिल्लाकै ठूलो बजार क्षेत्र रहेको वालिङमा यतिवेला अटो व्यवस्थापन नहुँदा दुर्घटनाको समेत जोखिम वढ्दो छ । नगरपालिकाले यसको व्यवस्थापनमा रुट निर्धारण, भाडादर कायम, नयाँ दर्ता, पुरानो नविकरण जस्ता कामहरु कार्यविधि निर्माण गरेर गर्नुपर्नेमा हालसम्म कार्यविधि वन्न नसक्नुले पनि थप सकस उत्पन्न भएको हो ।
२०७४ सालवाट नगरपालिकामा दर्ता सुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । कार्यविधि निर्माणमा ढिलाई र व्यवसायी विचकै विवाद भएकै कारण व्यवस्थापनमा कठिन भएको स्वीकार्दै शर्माले भने, ’ कार्यविधि तयार भैसकेको त्यसको अन्तिम टुंगो लाग्न वाँकी रहेको केही दिनमै जनप्रतिनिधि व्यवसायी विचको समन्वयमै कार्यविधि टुंगोमा पुग्छ ।“ शर्माका अनुसार लामो समय नियमित नभएका र नयाँ दर्ता नगरी सन्चालनमा आएका साधनलाई पहिला नियमित र दर्ता प्रकृया अगाडी वढाउन प्रकृया अगाडी वढाइसकेको जानकारी दिएका छन् ।
जिल्लाका अन्य पालिकामा वार्षिक नविकरण दस्तुर छ हजार तोकिएको भएपनि वालिङ नगरपालिकाले भने नयाँ दर्ता ७ हजार वार्षिक नविकरण चार हजार रुपैया कायम गरेको छ । यस अघि नगरपालिकामा एक सय ११ अटो दर्ता भएको र गतवर्ष नविकरण गरेको तिनवटा मात्र रेकर्डमा भेटिएको नगरपालिकाले जनाएको छ ।
जथाभावी हुने पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । अहिले यातायात व्यवस्था कार्यालयले अटोरिक्साको दर्ता नवीकरण लगायत आवश्यकपर्ने सबै प्रक्रिया स्थानीय सरकारबाटै गर्ने गरी जिम्मेवारी दिइसकेपछि आफूहरुलाई पनि अटोरिक्साको व्यवस्थापनमा निकै सकस भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविन आचार्यले जानकारी दिए । ’अटोरिक्साको निगरानी, चेकजाँच र ट्राफिक नियमको उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिइ कारवाही गर्दै आएका छौँ ।“ ट्राफिक प्रमुख आचार्यले भने, ’हामीलाई अधिकार धेरै छैन, व्यवस्थापनको काम नगरपालिकाले गरिदिएको भए हामीलाई पनि सहज हुन्थ्यो ।“