वालिङ–१८ वैशाख ।
ईलाका प्रशासन कार्यालय वालिङले भोली मंगलवार देखि आफ्नै भवनबाट सेवा सेवा प्रवाह गर्ने भएको छ । वालिङ नगरपालिका वाड नं ९ सुर्कौदी स्थित दरवार चोकमा प्रशासन कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भएपछि आज सोमवारको साइतमा गृह प्रवेश कार्यक्रम गरिएको छ ।
२०५७ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयले यस अघि भवन नहुँदा सुरुमा नयाँबजार र त्यसपछि हाल रहेकै वालिङ ८ स्थित कटौंजेबाट भाडाको घरवाट सेवा दिदै आएको थियो । आफ्नै भवन तयार भएपछि अव भने भाडामा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
आफ्नै भवनवाट सेवा सुरु गर्न लागेको कार्यालयको आज ८ जना कन्या सहित गृह प्रवेश पुजा गरिएको छ । गृह प्रवेश गर्दै इलाका प्रशासन कार्यालयका प्रमुख घनश्याम गौतमले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा दिन अब थप सहज हुने आशा व्यक्त गरेका छन् ।
प्रशासनको सेवा प्रभावकारी ढंगवाट सन्चालन गर्न कार्यालयका सबै कर्मचारीहरु र जनतासंग जोडिएर काम गर्नेुपर्ने उनले वताएका छन् । हाल निर्माण सम्पन्न भएको भवन नागरिक मैत्री छ प्रमुख गौतमले भने, “ पार्किङ र पर्खाल र सामान्य बगैचा समेत हुनेगरी निर्माण गरिएको हुनाले सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ ।’
४ रोपनी क्षेत्रफलमा ३ करोड २२ लाखको लागतमा साढे २ तले १४ कोठे भवन दुई वर्ष अगाडी निर्माण गर्ने सम्झौता गरिएको थियो । जे एण्ड इश्वर कन्ट्रक्सन चापाकोटले निर्माण को जिम्मा पाएको थियो ।
इलाका प्रशासनबाट, नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित, शान्ति सुरक्षा लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । आफ्नै भवनवाट सेवा प्रवाह गर्न पाएपछि यहाँवाट प्रदान गरिने सेवा थप प्रभावकारी हुने इलाका प्रशासन कार्यालयका सुव्वा सुवास पौडेलले जानकारी दिए । “ साघुरो ठाँउवाट सेवा दिर्दै आइरहेका थियौं अत्याधिक भिडभाड जस्तो महशुस हुन्थ्यो अव फराकिलो ठाँउवाट सेवा दिंदा पक्कै सहजहुने विश्वास लिएका छौं उनले भने ।’
जिल्लाका ११ पालिका मध्ये ७ वटा पालिकालाई सेवा दिँदै आएको प्रशासनबाट औसतमा दैनिक ६० वटा नागरिकता जारी हुँने गरेको छ । यो कार्यालयले वालिङ, चापाकोट, गल्याङ नगरपालिका, कालीगण्डकी गाँउपालिका पुरै, हरिनाश गाँउपालिका र भिरकोट नगरपालिका आँशिक कार्यक्षेत्र तोकिएको छ ।