काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।
गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसविरुद्ध उनले अर्को निवेदन दिएकामा आज सुनुवाइ भइ प्रक्रिया पुगेको भए दर्ता गर्न आदेश भएको हो ।
सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने साहले दावी गरेका थिए । तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले साहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका छन् । सरकारले वैशाख ३० का लागि चुनाव घोषणा गरेको छ।