वालिङ, ३२ साउन ।
वालिङ नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गर्न पाउने भएपछि नागरिकलाई राजस्व तिर्न सहज हुने भएको छ । नगरवासीले घरमै बसेर एप्स मार्फत नगरपालिकामा बुझाउनुपर्ने राजस्व साथै विद्युत र खानेपानीको महशुल समेत बुझाउन पाउने भएका छन् ।
नगरपालिकामा आईतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले जानकारी दिए ।
नगरपालिकाले बुटवल पावर कम्पनी तथा वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाईल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने भएको अर्यालले जानकारी दिए ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजश्व तथा विद्युत र खानेपानी कार्यालयको महशुल भुक्तानी गर्न पाउने भएका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगर प्रमुख खाँणले घरमै बसेर पनि नगरपालिकाको एप्स तथा अन्य एप्सहरुको प्रयोगमार्फत भुक्तानी गर्न अव कार्यालयमा जानु नपर्ने वताए । कार्यालयसम्म जान नपर्ने भएपछि समयको वचत हुनुकासाथै विशेष गरी अहिलेको कोभिड १९ को महामारीका समयमा भीडभाड पनि कम हुने नगर प्रमुख खाँणले विश्वास व्यक्त गरे ।
उक्त सेवा सुरु भएसँगै नगरबासीले सम्पति कर, घर वहाल कर, भुमिसुधार, सरसफाई, नविकरण सेवा कर, ब्यबसाय कर लगाएतका नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर साथै खानेपानी र विद्युतको महशुल समेत आफ्नै मोबाईलबाट घरमै बसेर तिर्न सकिने भएपछि नागरिकमा थप सहजता भएको नगरपालिकाले जनाएको छ ।
यसका लागि विभिन्न डिजिटल वालेटसंग सम्झौता गरेर उक्त सेवा सुचारु गरेको समेत नगरपालिकाले जनाएको छ ।