भीरकोट, २२ असार ।
कोरोना महामारीका कारण लामो समयदेखि विद्यालयहरु बन्द भएकाले विद्यार्थीहरुको पठनपाठन सुचारु गर्न भीरकोट नगरपालिकाले नगरपालिकाको ९ वटै वडामा वाईफाई फ्रि जोन स्थापना गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका ठाँउठाँउमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरी विद्यार्थीहरुको पठन पाठनमा सहज वनाउन लागेको हो ।
कोभीड १९ को दोस्रो लहरका कारण विद्यार्थीहरु विद्यालयमा उपस्थित भएर पढ्ने वातावरण नभएको कारण वैकल्पिक विधिवाट पठन पाठन सुचारु गर्नुपर्ने भएकाले ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीलाई इन्टरनेटको पहुँच पु¥याउन सबै वडा भित्रका सार्वजानिक पहुँचको स्थान छनौट गरी निशुल्क इन्टरनेट जडानको तयारी गरिएको भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम कहिले सम्म रहने भन्ने टुङ्गो नभएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर राखेर अनलाइन माध्यमबाट कक्षा लिन सकिने गरि हाललाई यो सेवा सुरु गरिएको हो र निकट भविश्यमा सर्वसाधारणले पनि यो सेवा उपभोग गर्न सक्नेगरी विस्तार गरिने खनालले जानकारी दिए ।
हाल नगरपालिकाले वल्ड लिंक कम्युनिकेशन प्रा।लि संग सबै वडाका सार्वजानिक स्थलमा इन्टरनेट जडानको सम्झौता भइसकेको नगर प्रमुख खनालले जानकारी दिए ।
पहिलो चरणमा नगरपालिकाका १० वटा सार्वजनिक स्थानमा इन्टरनेट फ्री जोनको स्थापना गरि सेवाको सुरुवात गरिने सूचना प्रविधि अधिकृत कमल रेग्मीले जानकारी दिए । यसका लागि नगरपालिकाले इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. संग ५ वर्ष सम्मको सम्झौता रहनेछ। हरेकवाइफाई जोनबाट एक पटकमा अधिकतम ६० जनाले न्युनतम ७ एम।बि।पि।एस। गतिको वाई फाई सुबिधा प्रयोग गर्न सक्नेछन् हाल लाई नगरपालिका केन्द्र र १ देखि ९ वटै वडाको १ स्थान बाट सुरुवात गरिने यो सेवा,यसको प्रभावकारिता र परिक्षण पश्च्यात अन्य स्थानमा बिस्तार गरिनेछ।
भीरकोट ५ को सबै घरमा निशुल्क इन्टरनेट जडान सुरु
भीरकोट नगरपालिका वड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले आफ्नो वडाका सबै नागरिकको घरमा निशुल्क इन्टरनेट जडानको व्यवस्था गरेका छन् ।
कोरोना महामारी सुरु भएलगत्तै जनताको सेवामा अहोरात्र खटिएर अव्लल वडाअध्यक्षको रुपमा नागरिकवाट प्रशंसा पाएका वडा अध्यक्ष अधिकारीले पुन आफ्नो वडामा रहेका विद्यार्थीको घरमा निशुल्क इन्टरनेट जडानको व्यवस्था गरेर अर्को सामाजीक उत्तरदायीत्व वहन गरेका छन् ।
लामो समय कोरोना संक्रमणको जोखिमका कारण विद्यार्थीहरुको पठन पाठन अवरुद्ध हुन पुगेपछि उनीहरुको पठन पाठनमा सहजता ल्याउन वडा अध्यक्ष अधिकारीले सबै घरमा इन्टरनेटको पहुँच विस्तार गर्ने अभियान सुरु गरेका छन् । उनले सबै विद्यार्थीको घरमा इन्टरनेट निशुल्क जडानको व्यवस्थापन गरेका हुन् ।
सूचना र प्रविधिको युगमा वैकल्पिक विधिवाट शिक्षण सिकाइ क्रियाकलाप पनि भरपर्दो माध्यमको रुपमा आइरहेकोले सबै विद्यार्थीको घरमा इन्टरनेटको पँहुच पुगोस र विद्यालयहरुले सन्चालन गरेको अनलाईन क्लासमा सबै विद्यार्थी सहभागि हुन भन्ने उद्देश्यका साथ वालिङ इन्टरनेट प्रा.लि. संग आफ्नो वडा भर फाइवर र इन्टरनेटको संजालले जोड्न र विद्यार्थीका घरमा वडा कार्यालयको सिफारिस अनुसार निशुल्क इन्टरनेट जडान गर्ने सम्झौता अनुसार इन्टरनेट जडानको काम सुरु भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
कुल ७ सय २५ घरधुरी रहेको वडामा झण्डै एक हजारको हाराहारीमा सबै उमेर समुहका विद्यार्थीहरु रहेको उनले जानकारी दिए । देशका विभिन्न शहरहरुमा अनलाईन कक्षा सन्चालन भइरहेको अवस्थामा यहाँ कोभीडका कारण आफ्नै घरमा बसेका विद्यार्थीले पठन पाठनमा समस्या आएको नागरिकको गुनासो आउने वित्तिकै आफूले इन्टरनेट पहुँच विस्तारको योजना अगाडी सारेको उनले वताए ।
हाल नयाँ घरमा इन्टरनेट जडान गर्न ११ देखि १७ सय रुपैयाँ सम्म खर्च हुने गरेको अनुमान छ । भीरकोट ५ मा वडा कार्यालयको सिफारिसमा यो शुल्क पुरै निशुल्क हुने मासिक शुल्क ग्राहक आफैले तिर्नुपर्ने अधिकारीले जानकारी दिए । मासिक शुल्क तिर्न नसक्ने घर परिवारका लागि आफूले सहयोगी संस्था वा व्यक्तिको खोजीमा रहेको समेत उनले जानकारी दिए ।
अहिले नगरपालिकाले समेत वडाका केही ठाँउमा निशुल्क इन्टरनेट फ्रि वाइफाइ जोनको व्यवस्था समेत गरिसकेको हुँदा तत्काल जडान गर्न नसक्ने घरका लागि यो पनि उपयुक्त विकल्प रहने वडा अध्यक्ष अधिकारीले जानकारी दिए ।
वडामा १० घरमा निशुल्क इन्टरनेट जडान गरिसकेको छ । मासिक शुल्क व्यवस्थापन गर्न सक्ने घरहरुमा निशुल्क जडान गरिसकेपछि । आवश्यकता अनुसार फ्रि वाइफाई जोनको व्यवस्थापन अवको केहीदिनमै व्यवस्थापन गरिने समेत उनले जानकारी दिए ।