प्रदिप कोइराला
हिमदुत, २४ जेठ ।
नेपालमा नयाँ भेरियण्ट सहितको कोरोना भाइरसको संक्रमणका कारण सुरुका दिनमा अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन गर्न नसक्दा कयौं मानिसले मृत्यूवरण गरेका खवरहरु पनि प्रसस्त सुनिए ।
सिलिण्डरमा परनिर्भरता र अक्सिजनको उत्पादन पयाप्त नभएकै कारण नेपालमा अक्सिजन सिलिण्डरको हाहाकार बढ्दै आएपछि राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिवाट अक्सिजन मिनि अक्सिजन प्लान्ट निर्माण गरी सोमवार स्याङ्जाको भीरकोट नगरपालिका स्थित भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेका छन् ।
महाविर पुनको नेतृत्वमा सन्चालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्टवाट अक्सिजन उत्पादन गर्ने प्रविधिको सफल परीक्षण पछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको हो । नगरपालिका र आविष्कार केन्द्र दुबैको संयुक्त लागतमा उक्त प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले जानकारी दिए ।
कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेको बेला आविष्कार केन्द्रले अक्सिजन उत्पादन वैकल्पिक विधिवाट एकै साथ अस्पतालका सबै वेडहरुमा पुग्ने आविष्कार गरी नगर अस्पतालमा जडान गरेकोमा नगर प्रमुख खनालले आविष्कार केन्द्र र महाविर पुनलाई धन्यवाद ज्ञापन गरेका थिए ।
झण्डै २० लाख लागतमा उक्त प्लान निर्माण सम्पन्न गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए । नेपालमा कोरोनाको दोस्रो लहरको सुरुवातीवाटै आविष्कार केन्द्रका इन्जिनियर उमेश किराँत र आफूले अक्सिजनको लागि वैकल्पिक व्यवस्थाको लागि यो प्रविधिको आविष्कार गरिएको उनले जानकारी दिए ।
प्लान्ट निर्माणका लागि देशमा लकडाउनका कारण आवश्यक उपकरणको जोहो गर्न निकै समस्या आएको भएतापनि आफूहरुसंग जे जे उपलव्ध सामाग्री छ त्यसवाटै निर्माण गरी मानिसहरुको ज्यान बचाउन पर्छ भनेर पहिलो पटक भीरकोट नगरपालिकामा यो प्लान्ट निर्माण गरिएको इन्जिनियर देवले जानकारी दिए ।
मिनि प्लान्टमा साटवटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्वल गरी ६५ लिटर प्रति मिनेट अक्सिजन त्यसवाट उत्पादन गरी दुईवटा टैक जसमा लो प्रेसर टैंकवाट कम्प्रेशर गरी हाईप्रेशर टैक मार्फत अस्पतालका १२ वटा शैयामा प्रति मिनेट ६५ लिटर अक्सिजन जडान गरिएको छ । जडान गरिएको अक्सिजन आवश्यकता अनुसार प्रेसर थप घट गर्न सकिने गरी जडान गरिएको उनले जानकारी दिए ।
कोरोना संक्रमण वढदो अवस्थामा अक्सिजनको अभावलाई परिपूर्ती गर्न छोटो समयमा वैकल्पिक प्रविधिको रुपमा आविष्कार गरिएको यो प्लान्ट सफल भएको अर्का वायोमेडिकल इन्जीनियर उमेश किराँतले जानकारी दिए । उनले भने यो प्रविधि अव देशका विभिन्न ठाँउहरुमा जडान गरिने छ ।
मिनि अक्सिजन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले सरकारले निर्णय गरी भीरकोट नगर अस्पतालमा निर्माण गर्ने भनिएको अक्सिजन प्लान्टलाई राजनीतिकरण गरी अन्यत्र लैजाने षडयन्त्र भएकोमा विरोध जनाएका थिए ।
महामारीको यो अवस्थामा भीरकोट नगरपालिकाले नयाँ आविष्कार गरिएको प्लान्ट जडान गरि तत्काल र दिर्घकालका लागि उपकरण जडान गरी नागरिकको स्वास्थ्य बचाउन गरेको पहलको प्रशंशा गरेका थिए ।
कार्यक्रममा अर्जुनचौपारी गाँउपालिकाका प्रमुख दिर्घनारायण अर्याल, वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी, भीरकोट नगर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तोयानाथ अर्याल, भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र केसी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, अधिकृत यामप्रसाद रेग्मी लगायतले महाविर पुन र आविष्कार केन्द्रले महामारीका वेला गरेको उत्कृष्ठ कार्यको प्रशंसा गरेका थिए ।