काठमाडौँ । जनता समाजवादी पार्टी सरकारमा सहभागीबारे प्रष्ट पारेका छन् । शनिबार पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले मधेशका माग मुद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् । ठाकुरले आफुहरूको केही माग पूरा भएको र केही माग पूरा हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको बताए ।
उनले आफूहरूले लामो समयदेखि राख्दै आएको मागलाई सकेसम्म पूरा गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएको बताए । ठाकुरले रेशम चौधरीलाई लगाएको मुद्धा, नागरिकतालगायतका बिषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको बताए । उनले केही व्यक्तिले नागरिकलाई राष्ट्रियतासँग जोडेर हेरेका कारण समस्या देखिएको धारणा राखे ।
कार्यक्रममा वरिष्ठ नेता एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए । आफूहरूको माग मुद्धालाई पूरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तीका लागि पनि सक्षमताका साथ काम गर्ने उनले बताए । महतोले पार्टीमा विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट बैधानिकता लिने स्पष्ट पारे ।
नवनियुक्त मन्त्रीहरूलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न पनि उनले निर्देशन दिए । त्यस्तै उनले हिमाल पहाड तराईका क्षेत्रबाट जसपाप्रति भरोसा हुने गरी जनताको सेवा लाग्ने बताए ।