काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेपछि विपक्षी दलहरु संवादमा जुटेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा विपक्षी नेताहरुको बैठक बोलाइएको हो।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवासमा पुगिसकेका छन्। बैठकमा माओवादी नेताहरु कृषणबहादुर महरा र नारायणकाजी श्रेष्ठ पनि पुगेका छन्।
माओवादी केन्द्रले आजै दिउँसाे पार्टीकाे स्थायी कमिटि बैठक पनि बाेलाएकाे छ।
देउवा निवासमा आयाेजित बैठकमा जसपाका नेताहरु र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ। नेता नेपाल पनि भर्खरै देउवा निवासमा पुगिसकेका छन्।
यसअघि माधवकुमार नेपाल समूहले आन्तरिक छलफल गरेकाे थियाे। यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई र रेणु यादव पनि केहीबेर अघि मात्रै देउवा निवास छिरेका छन्।