काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुधबार संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।
माओवादी केन्द्रको मंगलबार पार्टी कार्यलय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने आधिकारीक निर्णय गरेको थियो । सोही निर्णयअनुसार संसद सचिवालयमा आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।
सरकारलाई समर्थन कायमै राखेको भन्दै चर्को आलोचना खेप्दै आएको माओवादीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि माओवादीले समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत रहेको प्रमाणित गर्नुपर्ने छ ।