काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । सरकारलाई समर्थन नरहेको पत्र भोलि संसद सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेशको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको छ । लुम्बिनीमा अवैधानिक तरिकाले नयाँ प्रदेश सरकार बनाएकाले त्यसलाई अवैधानिक ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघनको पराकाष्टा भएको बताए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा विश्वासको मत लिन खोज्नु शंकाको विषय भएको श्रेषठले बताए । ‘केही समयभित्र संसदको नियमित अधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ । तर, नियमित अधिवेशन बोलाउनुको सट्टा विशेष अधिवेशन बोलाएपछि प्रधानमत्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिन्न । लोकतान्त्रिक शक्तिहरूले सचेततापूर्वक ध्यान दिनु पर्ने आवश्यकता छ भन्ने निष्कर्ष हामीले निकाल्यौं’ प्रवक्ता श्रेष्ठले भने ।