काठमाडौं । सभामुख अग्निप्रसाद सापको प्रधानमन्त्री ओलीलाई भेटेर संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउने मुडमा रहेका छन् ।
यसको लागि प्रधानमन्त्री ओलीसंग भेट्ने प्रयास गरेपनि उनी सफल हुन सकेका छैनन् । प्रतिनिधिसभा पुर्नस्थापना भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक रुपमा भेटवार्ता भएको छैन । पछिल्लो समय सभामुख सापकोटाको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन् ।
ओलीको बुझाइमा सभामुख साझा व्यक्ति भए पनि राजनीतिक विषयमा प्रवेश गरेको आरोप लगाएका छन् । यतिसम्म कि सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीले झगडिया भएको सार्वजनिकरुपले आरोप लगाएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्रीसंग प्रत्यक्ष नभएपनि संसद संचालन गर्न कानुनमन्त्रीमार्फत कुरा भइरहेको उनले बताएका छन् । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको उनको बुझाइ रहेको छ ।
सर्वोच्च अदालतको आदेशमा फागुन २३ गते बोलाइएको संसद सरकारले विजनेस नदिदा भूमिका विहिन भएर बसेको छ । संसद भूमिकाविहिन हुँदा अलमलमा परेका सापकोटा सोमबार भने केहि आशावादी रहेका छन् । सोमबार विहान राष्ट्रपति विद्या भण्डारीलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग भेट हुँदा समय मागेको र बालुवाटरबाट सकारात्मक जवाफ आउने उनले विश्वास लिएका छन् । पत्रकारहरूसँगको भेटका क्रममा सभामुख सापकोटाले भने, ‘प्रधानमन्त्रीसँग छलफल गर्नका लागि समय मागेको छु, खबर आउने विश्वासमा छु ।’
संसद्मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको सभामुख सापकोटाले बताए । उनले दलहरूबीच छलफल भइरहेको र निष्कर्ष निस्किने अपेक्षा राखेका छन् । ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन । निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु । निष्ठाका साथ अगाडि बढ्छु, सभामुख सापकोटाले भने ।