काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेकोले महत्वपूर्ण अध्यादेश संसदमा पेश हुन नसकेकाे आरोप लगाएका छन् ।
एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले सभामुख सेटिङबाट चलेकोले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश नगरिएको आरोप लगाएका हुन् । सभामुखले संविधान र कानून बमोजिम गर्नुपर्ने संवैधानिक व्यवस्थालाई उल्टयाएर अवरोध सिर्जना गरिएको बताए ।
संसद विघटनको औचित्य पुष्टि हुने अवस्था बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद पहिलो दिनदेखि आफैं बहिस्कार गर्ने, आफैंले चल्न नदिने स्थिति बन्यो ।’
सभामुखको कारण संवैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन आरोप लगाउँदै उनले भने, ‘संविधानको कार्यान्वयनप्रति सभामुखको जुन प्रतिवद्धता रहनुपर्थ्यो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति र सेटिङबाट कार्यान्वयन हुन दिइएन ।’