काठमाडौं । प्रचण्ड समूहबाट बिदा भएका नेता माधवकुमार नेपालले मान्छे भएर जन्मे पछि गल्ती हुने र इतिहासलाई बिर्सी मिलेर अघि बढ्न आग्रह गरेका छ्न । सोमबार प्रचण्ड समूहसँगको अन्तिम बैठक पछि नेपालले सबै सम्भावनाको बारेमा छलफल गरेर अघि बढ्न आग्रह गरे ।
‘हामीले त्यो तितो, पिरो मनमा राखेर पुरानो इतिहासका कुरा कोट्याएर जानु हुँदैन’, नेपालले भने । उनले सबै सम्भावनाको बारेमा छलफल भएको र सबै सम्भावनाको बारेमा अध्ययन पनि गरिरहेको बताए । आफूहरु राष्ट्रिय हित, लोकतन्त्रको सुदृढिकरण र समाजवादको धेय र उद्देश्य अनुरुप समाजको रुपान्तरणलाई अघि बढाएर लैजाने पक्षमा रहेको नेपालले बताए । सर्वोच्च अदालतको फैसलाले एमाले एमाले तिर माओवादी माओवादी तिर भनेको भए पनि यस भित्र पनि विभिन्न पक्षको अध्ययन गरिरहेको उनले बताए ।
सबै पक्षको अध्ययन र निर्वाचन आयोगको पत्र हेरेपछि थप प्रष्ट हुने उनको भनाइ छ । सर्वोच्चको फैसला आए पनि त्यस भित्र समेत जटिलता रहेको नेपालले बताए । ‘पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भन्ने सुन्नमा आएको छ, पूर्वमाओवादीको नाममा पनि अर्को दल दर्ता छ भन्ने कुरा सुन्नमा आएको छ, त्यस्तो अवस्थामा सजिलै गरी पछाडि फर्कन सक्ने स्थिति बन्छ कि बन्दैन, यी जम्मै पक्षहरुको बारेमा हामी अध्ययन गर्छौ, आपसमा परामर्श गर्छौ, कानुनी पक्षदेखि लिएर सबै पक्षको बारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ’, नेपालले भने । जुनसुकै ठाउँमा बसेपनि वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने, संस्थागत गर्ने, सशक्त बनाउने कार्यमा लाग्ने नेपालले प्रतिवद्धता व्यक्त गरे ।
लोकतन्त्रका मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकतान्त्रिक शक्तिहरुलाई पनि साथमा लिएर सहकार्य निरन्तर रुपमा जारी राख्ने उनले बताए । भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, बैठक निर्धारित समयमा बसेन । झण्डै चार घण्टापछि मात्र पेरिसडाडाँमा बैठक शुरु भयो ।
अनौपचारिक भनिएको बैठक साँझ अवेरसम्म नै चल्यो । एकपछि अर्का नेता बैठक हलबाट बाहिरिए । तर, कसैले पनि निर्णयबारे बताएनन् । पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको ३३ महिनापछि सर्वोेच्चले एमाले र माओवादी ब्यूँताएको थियो, त्यो पनि संसद विघटनविरुद्ध नेकपा विभाजित भएर ओली र प्रचण्ड–माधव समूहका रुपमा रहेका बेला । फैसलाले एमाले र माओवादी त व्यूँतियो, तर माधव नेपाल समूहले के गर्ला भन्ने चासो थियो । पेरिसडाँडाको बैठकबाट बाहिरिएका नेताहरुले पनि यसबारे केही बताएका थिएनन् । तर बैठकमा दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित शीर्ष नेताहरुले अलग भएर जाने बताइसकेका थिए ।
बैठकको शुरुमै बोलेका प्रचण्डले प्रष्ट भाषामा एमाले र माओवादी अलग हुने बताएनन् । तर, अदालतको फैसला मानेर आ–आफ्नो बाटो तर्फ लाग्नुपर्ने सांकेत गरेका थिए । ‘फैसलाले नयाँ स्थिति आयो । हामीले धारणा राख्दा यो राजनीतिक फैसला हो, यसमा सहमति छैन भन्ने हो’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर अस्वीकार गर्छौ भन्न मिलेन । यसलाई मानेर जानुपर्छ । फरक ढंगले जानुपर्ने स्थिति आयो । अदालतले यो स्थितिमा ल्याइदियो ।’ अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्डकै जस्तो शैलीमा धारणा राखेका थिए । ‘अदालतको फैसलालाई समान्न गर्नुपर्छ ।
जे–जे आइलाग्छ, सम्हाल्दै फेरि एकता गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुपर्छ’, नेपालको भनाइ थियो । वाम आन्दोलन आन्दोलनलाई टुक्रिन नदिन प्रयास कायमै राख्नुपर्ने उनले बताएका थिए । यसपछि बोलेका नेताहरुले पनि अलग हुने परिस्थिति अदालतले बनाइदिएको बताएका थिए । ‘भविश्यमा पनि कुराकानी गरौं । एकताको प्रक्रियालाई जारी राखौं भन्दै लामो समय चलेको अनौपचारिक बैठकबाट उठ्यौं’, ती नेताले भने ।
उनका अनुसार शीर्ष नेताहरुले शुरुमै बोलेकाले यसपछि स्थायी कमिटी नेताहरुले आफ्नो कुरा राख्दै बाहिरिने गरेका थिए । र, यो नेकपाको सम्भवतः अन्तिम बैठक हुनसक्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् । नेताहरुका अनुसार प्रचण्ड र माधव नेपालबीच अदालतको फैसला अनुसार, एमाले र माओवादीमै रहने सहमति जुटेको थियो । त्यही कुरा बुझाउन र समान धारणा बनाउन दुबेले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए ।