प्रकाश डोटेल
स्याङ्जा, १४ भदौ
नेपाली काँग्रेस स्याङ्जा विभाजनको संघारमा पुगेको छ । जिल्लाको वालिङमा पार्टीका महामन्त्री डा. शंशाक कोईराला र चापाकोटमा पार्टीका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ एकैदिन दुई फरक फरक कार्यक्रममा सहभागि भएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।
नेपाल महिला संघ स्याङ्जाद्धारा प्रकाशित ‘शक्ति’ नामक पुस्तक विमोचन गर्न महामन्त्री डा. कोईराला वालिङ पुगेका थिए, भने पार्टीका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ काँग्रेस क्षेत्रिय समितिको आयोजनामा तीज विशेष कार्यक्रममा चापाकोट पुगेका हुन् । पार्टीका नेताहरु जिल्लामा एकैदिन फरक फरक दुई कार्यक्रम पुगेपछि कार्यकर्तामा अन्यौलता छाएको छ ।
“पार्टीका नेता एकैदिन जिल्लामा भएको फरक फरक कार्यक्रममा सहभागि भएपछि कार्यकर्ता निराश छन् ।” काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीले भने, “जिल्लाका कार्यबहाक पार्टी सभापतिले आवश्यक समन्वय नगर्दा समस्या सृजना भयो ।” सुझबुझका साथ आवश्यक निर्णय लिन नसक्ने हो भने काँग्रेस स्याङ्जा विभाजन हुनुको विकल्प नरहेको उनले बुझाई छ ।
महिला संघको कार्यक्रममा गए महामन्त्री डा. कोईरालाको पक्षको हुने र चापाकोटको कार्यक्रम गए श्रेष्ठ पक्षिय बनिने डरले केहि कार्यकर्ता दुबै कार्यक्रम सहभागि भएनन् । महामन्त्री डा. कोईराला सहभागि भएको कार्यक्रममा संस्थापनइतर र केन्द्रिय सदस्य श्रेष्ठ सहभागित कार्यक्रममा संस्थापन पक्षका कार्यक्रकर्ताले बाक्लो सहभागिता जनाए ।
“पार्टीमा सक्रियता पूर्वक काम गर्दा यस्ता गतिविधिले निराश बनाउँदो रहेछ ।” नेवि संघ स्याङ्जा पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि मुन्ना शेखले भने, “पार्टीका नेता जिल्ला आउँदा कार्यकर्तामा उर्जा आउनु पर्नेमा निराशा छाएको छ ।” पार्टीका शिर्ष नेता जिल्ला जाने समयमा केन्द्रिय समितिले समन्वय गरेको भए यस्तो समस्या उत्पन्न नहुनेमा उनको जिकिर छ ।
फरक फरक स्थानमा भएका कार्यक्रममा आफू निकटका कार्यक्रर्ता लैजाने दुबै धारका नेताले जोडबल गरेका थिए । वालिङमा आएका कार्यकर्तालाई चापाकोट र चापाकोट हिडेका कार्यकर्तालाई वालिङ लैजाने नेताहरुबीच होडबाजी चलेको श्रोतले जनायो । श्रोतका अनुसार केन्द्रिय ंनेताको चाप्लुसी गर्न जिल्लास्थित नेताले तत्लो स्तरको चुत्छ गतिविधि अपनाए ।
तत्कालिन समयमा काँग्रेस विभाजन हुँदा काँग्रेसमा लागेका नेता र काँग्रेस (प्रजातान्त्रिक) खेमा लागेका कतिपय नेताले समयसँगै धार परिवर्तन गरेका छन् । तत्कालिन समयमा काँग्रेसमा रहेका जिल्लास्थित नेता प्रजातान्त्रिक खेमा पुगेका छन् भने कतिपय नेता प्रजातान्त्रिक धार छाडेर काँग्रेस पुगेका छन् । धार परिवर्तन गर्ने लहरसँगै स्याङ्जा काँग्रेसमा खिचातानी चलेको थियो ।
पार्टीका तत्कालिन सभापति कमलप्रसाद पंगेनीको २०७५ साउनमा निधन भएको एक वर्ष बितिसक्दा समेत जिल्ला अधिवेशन नगरि तत्कालिन पार्टी सचिव कुमार रानालाई कार्यबहाक सभापति बनाएपछि पार्टी औपचारिक रुपमा विवादमा फसेको हो । महामन्त्री पक्ष जिल्ला अधिवेशन र श्रेष्ठ पक्ष कार्यबहाक मार्फतै पार्टी संचालन गर्ने रणनीतिमा लागेपछि पार्टी विभाजनको संघारमा पुगेको स्थानीय नेताको भनाई छ ।