काठमाडौं १३ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रतिपक्षी दल भएर पनि नेतृत्वले सरकारको खबरदारी गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले जनता नै सरकार विरुद्ध आवाज उठाउँदै सडकमा आएपनि प्रतिपक्षी दल मुकदर्शक भएर बसेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
कांग्रेस केन्द्रिय सदस्यहरुले सरकार संस्थागतरुपमै भ्रष्टाचारमा लागेको, राज्यका अंगहरुमा पार्टीकरण गरेको आरोप लगाएका छन् । जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा समसामयिक विषयमा नेताहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा बोल्ने अधिकांश नेताले जनप्रतिनिधिलाई क्रियाशिल बनाउन, सरकारका कामको उचित निगरानीसहित खबरदारी गर्न र पार्टी नेतृत्व जिम्मेवार भएर अघि बढ्नुपर्ने सुझावसहितका कारणा राखेका छन् । शुक्रबारको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको प्रस्ताव अनुसार नै छलफल जारी छ ।