
वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ नगरपालिका–१३, बयटारीमा जन्मिएका शरीर सुगठन (बडीबिल्डिङ) खेलाडी यमन्त राज गुरुङ कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेका छन्।
राष्ट्रिय तथा क्षेत्रीय स्तरमा पदक र उपाधिको अनुभव बटुलिसकेका गुरुङले यसपटकको राष्ट्रिय खेलकुदमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेका छन्। यसअघि उनले ९औँ राष्ट्रिय खेलकुदमा चौथो स्थान हासिल गरेका थिए भने पोखरामा सम्पन्न ‘मिस्टर पोखरा’ (Mr. Pokhara) प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक जित्न सफल भएका थिए।

आगामी १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत शरीर सुगठन विधाका खेलहरू पश्चिम रुकुममा सञ्चालन हुनेछन्। प्रतियोगिता सन् २०२६ डिसेम्बर २ देखि १३ सम्म तय गरिएको छ। यही महाकुम्भलाई लक्षित गर्दै गुरुङ हाल पोखराका विभिन्न जिम तथा प्रशिक्षण केन्द्रमा नियमित अभ्यास, कडा अनुशासन र सन्तुलित आहारमार्फत आफ्नो शारीरिक सुगठन तथा प्रतिस्पर्धात्मक क्षमतालाई निखारिरहेका छन्।
शरीर सुगठन खेललाई निरन्तरको धैर्य, खानपानको कडा नियन्त्रण र आत्मविश्वासको परीक्षाका रूपमा लिँदै आएका गुरुङले यसलाई व्यावसायिक यात्राका रूपमा अघि बढाइरहेका छन्। वालिङ–१३ बयटारीमा जन्मिएर पोखरामा संघर्ष गर्दै राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाइरहेका उनको खेल यात्रा स्थानीय युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
आगामी १०औँ राष्ट्रिय खेलकुदमा यमन्त राज गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता चुम्न सकून् भन्ने शुभकामना व्यक्त गरिएको छ।