
स्याङ्जा २१ भदौ । नेपाल रेडक्रस दिवस–२०८३ को अवसरमा स्याङ्जाको वालिङ–१०, फुलबारीस्थित श्री पूर्णामृत भवानी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल जुनियर/युवा रेडक्रस सर्कल, श्री पूर्णामृत भवानी माध्यमिक विद्यालयको आयोजनामा आगामी २०८३ भदौ २३ गते (८ सेप्टेम्बर २०२६) बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाइएको छ।
कार्यक्रम ६४औँ नेपाल रेडक्रस दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा जनजी सहिदहरूको सम्झनामा आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले जानकारी दिए । साथै, २०८३ भदौ १० गते रासुवा, भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको प्रतिकार्यका लागि सहयोग जुटाउने उद्देश्य समेत यस कार्यक्रमको रहेको लम्सालले वताए ।
कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान गर्न सबैलाई आह्वान गरिएको छ। कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाले गर्ने जनाइएको छ।
रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै “रक्तदान गरौँ, पुण्य कमाऔँ” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।