
वालिङ, जेठ २४ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं वालिङ महोत्सव २०८२ को आयव्यय सार्वजनिक गरिएको छ। वालिङ खेलमैदानमा आयोजित पत्रकार भेटघाट तथा आयव्यय सार्वजनिक कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति संघले आभार व्यक्त गरेको छ।
संघका अनुसार महोत्सवमा वालिङबासी उद्योगी, व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी तथा आम सर्वसाधारणको सक्रिय सहयोग र सहभागिता रहेको थियो। सोही कारण महोत्सव भव्य र सफल रूपमा सम्पन्न भएको जनाइएको छ।
सार्वजनिक गरिएको विवरण अनुसार महोत्सवबाट रु. ७१ लाख ७२ हजार २७६ आम्दानी भएको छ भने रु. ६९ लाख ७८ हजार ३४८ खर्च भएको छ। यसबाट रु. १ लाख ९३ हजार ९२८ बचत भएको थियो। उक्त रकमबाट आयकर व्यवस्थाबापत रु. ३ लाख ९ हजार ३६० व्यवस्था गरी अन्तिम रूपमा रु. ६ लाख ६३ हजार ६०८ खुद बचत कायम भएको संघले जनाएको छ।
खुद बचत रकमलाई पूर्वघोषित योजना अनुसार विभिन्न शीर्षकमा बाँडफाँट गरिएको छ। जसअनुसार व्यवसायिक हितकोषमा १५ प्रतिशत अर्थात् रु. १ लाख, संस्थागत विकास तथा संरक्षणमा ३५ प्रतिशत अर्थात् रु. २ लाख ३१ हजार ६०८ तथा खेलमैदानको जग्गा खरिदका लागि ५० प्रतिशत अर्थात् रु. ३ लाख ३२ हजार विनियोजन गरिएको छ।
संघले खेलमैदानको जग्गा खरिदका लागि छुट्याइएको रकम तत्काल खर्च नगरिने जनाएको छ। उक्त रकमलाई हाल सुरक्षित बैंक खातामा राखी वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका र खेलमैदानसँग सम्बन्धित सरोकारवाला संस्थाहरूबीच छलफल तथा सर्वपक्षीय निर्णयपछि मात्र जग्गा खरिदमा खर्च गरिने जानकारी दिइएको छ।
कार्यक्रममा महोत्सवको वित्तीय विवरण आन्तरिक लेखापरीक्षणपछि तयार गरिएको र प्रचलित कर तथा वित्तीय नियमअनुसार प्रक्रिया पूरा गरिएको संघले जनाएको छ।