
स्याङ्जा, भदौ ८ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ बाहुनडाँडामा भलिवल खेलेर फर्कदा दुई समूह विच भएको झडपमा एक युवकको ज्यान गएको छ। घटनामा संलग्न भएको आरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भदौ ७ गते राति करिब ११ बजे वालिङ ५ वाहुनडाँडाका ३२ वर्षिय ढालबहादुर थापा लाई कुटपिट गरिएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।
गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्कालै वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो। तर, चिकित्सकले राति १:३७ बजे उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका भनिएका दुई व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरूमा स्याङ्जा हरिनास गाउँपालिका–५ निवासी २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ कान्ती निवासी २४ वर्षीय अनिल शाही रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घटना कुटपिटका कारण भएको देखिएको जनाइएको छ। भलिवल खेलेर फर्कदा घटना भएको वुझिएको छ ।