स्याङ्जा जेठ १८ । गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (माघ–चैत्र) कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभर पहिलो स्थानमा रहेको छ।
जिल्लाले कुल १८.५ पूर्णाङ्कमध्ये १८.१२५ अंक प्राप्त गर्दै उत्कृष्टता प्रदर्शन गरेको हो। मूल्याङ्कन शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह, सुशासन, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन, मुआब्जा वितरण र विकास सहजीकरणजस्ता सूचकका आधारमा गरिएको थियो।
यसअघि स्याङ्जा दोस्रो र २७औं स्थानमा परेको थियो। छोटो अवधिमै उल्लेखनीय सुधार गर्दै तेस्रो त्रैमासिकमा शीर्ष स्थानमा पुग्न सफल भएको हो।
स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलका अनुसार गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनले यो सफलता मिलेको हो। चौथो त्रैमासिकमा पनि साख जोगाइने विश्वास उनले व्यक्त गरे।
तेस्रो त्रैमासिक अवधिमा प्रमुख जिल्ला अधिकारीका रूपमा इश्वरीप्रसाद अर्याल र यस अघि सुनिता नेपाल प्रमुख जिल्ला अधिकारी दुवैले नेतृत्व गरेका हुन्। यस अघि प्रजिअ नेपालले नदीजन्य उत्खनन, विपद् व्यवस्थापन र बालबालिका क्षेत्रमा उल्लेखनीय योगदान गरेकी थिइन्।
हालका प्रजिअ अर्याल नागरिकमैत्री सेवामा जोड दिँदै ‘प्रशासनबाट सेवा लिएर फर्कने नागरिक मुस्कानसहित फर्कनुपर्छ’ भन्ने भावनासहित कार्यसम्पादन गरिरहेका छन्। यसले सेवाग्राही सन्तुष्ट रहेका छन भन्ने वुझिन्छ । जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकार भित्रका काम चुस्त दुरूस्त वनाएर यो उपाधीको निरन्तरता दिने प्रयासमा रहेको छ ।