स्याङ्जा जेठ १५ गते । गणतन्त्र दिवस २०८२ को अवसरमा स्याङ्जामा विविध कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय दिवस उल्लासपूर्वक मनाइएको छ।
जिल्ला समन्वय समिति, स्याङ्जा तथा पुतलीबजार नगरपालिका स्याङ्जाको संयुक्त आयोजनामा र जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा बिहान ७:०० बजेदेखि प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको प्राङ्गणबाट सुरु भएको प्रभातफेरीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जननिर्वाचित जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, सुरक्षाकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थी समूह तथा स्थानीयवासीहरू बाजागाजासहित सक्रिय रुपमा सहभागी भएका थिए।
प्रभातफेरीले जिल्ला सदरमुकामका प्रमुख स्थानहरूको परिक्रमा गरी पुनः जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर समापन भएको थियो।
सोही अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदी, प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, नेपाली काँग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा एमालेका सचिव रामचन्द्र भट्टराई, नेकपा माओवादीका जिल्ला सचिव मिनप्रसाद कोईराला, समाजवादीका जिल्ला अध्यक्ष शंकरध्वज कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, नागरिक समाजका जिल्ला अध्यक्ष ओमप्रकाश शर्मा लगायतका वक्ताहरूले गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि, यसको संरक्षण र सुदृढीकरणमा सबै तह र तप्काको सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज तथा सर्वसाधारणबीच आपसी समन्वय, सहकार्य र राष्ट्रप्रतिको प्रेम अभिव्यक्त गर्ने अवसर प्रदान गरेको सहभागिहरूले बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रम पुतलीवजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख देवी अर्यालले गरेकी थिइन । सहायक प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको सन्चालन गरेका थिए । यस अघि गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सुन्तला चोकमा दीप प्रज्वलन गरिएको थियो ।