स्याङ्जा, जेठ ११ । वालिङ–हुवास सडकखण्डअन्तर्गत डुम्रेभञ्ज्याङ–हुवास खण्डमा जेठ १९ गतेसम्म सवारी आवागमन बन्द गरिने भएको छ। सडक विस्तारका क्रममा ढुंगा कटिङ गर्नुपर्ने भएकाले सो खण्ड बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ।
सडक डिभिजनका सूचना अधिकारी ध्रुव पोख्रेलका अनुसार ढुंगा काट्ने काम जोखिमपूर्ण भएकाले सडक दिउँसो बन्द गर्नु अपरिहार्य भएको हो। उनले सवारी चालक र सर्वसाधारणलाई वैकल्पिक रुपमा (भूर्तेलथोक हुँदै) मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
गत चैत्रमा स्रोत सुनिश्चित भएपछि सडक डिभिजन कार्यालय पोखराले सडक निर्माणका लागि रु ४ करोडको लागत अनुमान गर्दै गुरूङ निरौला जेभी, पर्वतसँग २ करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कार्य यही आर्थिक वर्ष ०८१/८२ को असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको छ।
इन्जिनियर पोख्रेलका अनुसार सडक निर्माणमा ढिलाइ हुँदा समयमै काम सम्पन्न गर्न समस्या देखिएकाले सडक बन्द गर्ने निर्णय गरिएको हो। यातायात व्यवसायी र निर्माण कम्पनी विच १८ गते सम्म वेलुका ९ वजेदेखि विहान ७ वजेसम्म सडक खोल्ने सहमती भएको छ ।
शुक्रबार उक्त सडकको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खड्कराज सुवेदी, प्रहरी प्रमुख दधीराम न्यौपाने, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो।