स्याङ्जा ९ जेठ ।
वुटवल पावर कम्पनी लिमिटेडले आँधीखोला वितरण केन्द्रवाट वितरित विद्युतको महशुल वृद्धि गरेपछि यतिवेला स्याङ्जा र पाल्पाको उपभोक्ता आन्दोलित भएका छन् ।
विद्युत नियमन आयोगले अध्यक्ष लगायत समितीको पदावधि सकिन एकदिन अघि विद्युत महशुल वृद्धि गर्ने निर्णय गरेको थियो । आयोगले गरेको निर्णय र कम्पनीले गरेको मुल्य वृद्धि फिर्ता नहुँदा सम्म आन्दोलन जारी राख्ने उपभोक्ता र सरोवारवाला संस्थाहरुले जानकारी दिएका छन् ।
स्याङ्जाका वालिङ, गल्याङ, भीरकोट र चापकोट र पाल्पाको रम्भा र रामपुरका उपभोक्ता आन्दोलित भएका हुन । गल्याङमा व्यापारीहरुको संस्था चेम्वर अफ कमर्सले धर्ना कार्यक्रम गरेको छ भने राजनैतिक दलले समेत आन्दोलनलाई एक्यवद्धता जनाएका छन् ।
मंगलवार सबैठाँउमा भएको आन्दोलनवाट उपभोक्ताको घर घरमा हुने मिटर रिडिङ रोक्न र मुल्य वृद्धि फिर्ता गर्न दवाव दिइएको नेपाली काँग्रेस वालिङका नगर सभापती नेत्र प्रसाद पाण्डेले जनकारी दिए ।
वुटवल पावर कम्पनी र सरकार विच आयोजना निर्माणको चरणमा भएको सम्झौता समेत हेरेर प्रभावित क्षेत्रका वासिन्दाले पाउने सहुलियत दरको विद्युत उपभोग गर्न पाउनुपर्ने माग समेत राखेको उनले वताए ।
उता वुटवल पावर कम्पनीको महशुल वृद्धि फिर्ता लिन जिल्लाका प्रदेश र संघीय साँसदहरुले प्रेस विज्ञप्ती मार्फत माग गरेका छन् । देश आर्थिक संकटमा परेको अवस्थामा जनताको जनजिविकालाई प्रभाव पार्ने गरी गरिएको चर्को मुल्य वृद्धि खारेजीको माग गरेका छन् । उनीहरुले कम्पनीले गुणस्तरमा सुधार गर्न चासो नदेखाएको प्रति आलोचना समेत गरेका थिए ।