प्रदिप कोइराला
वालिङ–१२ असोज ।
व्यवस्थित पार्किङको अभावका कारण अस्तव्यस्त बनेको वालिङ बजारको समस्या अब सहज हुने भएको छ । वालिङ नगरपालिकाले वालिङ ८ स्थित सित्तलनगरमा आधुनिक बसपार्क निर्माण गर्ने भएपछि वालिङको पार्किङ समस्या समाधान हुने भएको छ ।
बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा सित्तलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । बजेट अभावमा निर्माण हुन नसकेको बसपार्क यसपटक भने वालिङ नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा निर्माण गर्ने भएको हो । नगरपालिकाले नगर विकास कोषसंग ऋण लिन केही दिन अगाडी सम्झौता गरिसकेको छ । २० रोपनी नगरपालिकाको र १० रोपनी सार्वजानिक जग्गामा उक्त बसपार्क निर्माण हुने नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी नगर विकास कोष समक्ष पेश गरेको थियो । कोषले सोही प्रतिवेदनका आधारमा बसपार्क निर्माण गर्न ऋण दिन तयार भएको नगरपालिकाले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा २० करोड ५६ लाखमा आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने उल्लेख छ । सोही अनुसार पहिलो चरणमा १२ करोड २७ लाख ५७ हजार लागतमा बसपार्कको काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।
गत सोमवार बसपार्क निर्माणका लागि नगरपालिका र नगर विकास कोष संग नगर प्रमुख कृष्ण खाँण र उप प्रमुख कविता तिवारीले सम्झौता गरेका छन् । सम्झौता अनुसार नगरविकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण सहयोग र १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट अनुदान सहयोग ४ करोड २९ लाख ६४ हजार ९ सय ५० रुपैयाँ वालिङ नगरपालिकाको संयुक्त लगानीमा सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।
स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडी बढेको वालिङ नगरपालिकाको पूर्वाधार मध्ये बसपार्क पनि एक हो । व्यवस्थित र सुविधा युक्त बसपार्कमा पहिलो चरणमा बसपार्कको मुख्य टर्मिनल भवन, पार्किङ स्थल, सौचालय, चमेनागृह र मिर्दीखोला तटवन्धनको निर्माण हुने नगरपालिकाका इन्जिनियर धु्रव रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार पहिलो चरणमा बसपार्कको मुख्य पक्षलाई प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘यसपछि बसपार्ककै छेउमा मनोरञ्जनका लागि आँधीमाथि बसेर खाजा खान मिल्ने पुल्ली रेष्टुरेण्ट, चार्जिङ स्टेशन लगायतका संरचना निर्माण हुनेछन ।’
बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप,mमिनीबस, माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा, निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।
बसपार्क निर्माण सम्पन्न भएपछि वालिङ बजारमा बसहरु रोक्न पाउने छैनन् । यात्रुहरु झराल्ने र चढाउने काम बसपार्कवाट मात्र हुने नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणका लागि आगामी कात्तिक महिना सम्ममा टेण्डर आब्हान गरिने नगरपालिकाले जनाएको छ ।