२४ कार्तिक, काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि स्याङ्जा जिल्लामा २ हजार ५ सय ५० जना कर्मचारी मतदानस्थल र केन्द्रमा खटिने भएका छन् ।
जिल्लाका १९९ मतदानस्थल र ३ सय २० मतदान केन्द्रमा २ हजार ५५० कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । मतदान स्थलमा मतदाताको संख्याको आधारमा ८ देखि ९ जना कर्मचारी खटिने कार्यालयले जनाएको छ ।
२ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ४ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ३ सय २० मतदान अधिकृत, ३ सय २० सहायक मतदान अधिकृत, १५ सय ९० सहायक कर्मचारी र ३ सय २० सहयोगी कर्मचारी मतदान स्थलमा खटाउन लागिएको हो ।
जिल्ला कारागारका कैदीबन्दीलाई समानुपातिक तर्फ मतदान गराउन सदरमुकाम पुतलीबजारमा एक अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । अस्थायी मतदान केन्द्रमा कारागारका महिला ४ र १३० पुरुष मध्ये मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मतदान गर्ने छन् ।
मतदान स्थल र केन्द्रमा जाने कर्मचारीलाई मतपत्र सहितका निर्वाचन सामग्री दिएर खटाउन लागिएको कार्यालयले जनाएको छ । जिल्लाका ९७ वडामा १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्र रहेका छन् ।