वालिङ, २६ साउन ।
पहिरो प्रभावित वालिङ नगरपालिकाका छ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका छ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो ।
पहिलेदेखि बस्दै आएको घर बस्तीमा गतवर्षको वर्षायाममा जमिन भास्सिने, चिरिएकाले प्राविधिकको राय सुझाव अनुसार उहाँहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले जग्गाको खोजी गरेसँगै जग्गा प्राप्ति भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने नगर प्रमुख खाँणले जानकारी दिए । मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले यहाँका नागरिकहरुको सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी कार्य जारी रहेको समेत उनले वताए ।
गतवर्षसम्मको मनसुनजन्य विपदका कारण प्रभावित हुने घरपरिवार नगरपालिकाभित्र ४० भन्दा बढी रहेका छन् । छ घर परिवारलाई प्रतिघर करीब ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताए । वडा अध्यक्ष सुबेदीका अनुसार उक्त जग्गा खरीद तथा पास गर्दा रु. १४ लाख ४० हजार लागेको छ ।
वालिङ ८ दमैडाँडाका टीकामाया दर्जी, डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई जग्गा हस्तान्तरण गरिएको हो । गतवर्ष वर्षायामका समयमा छ घर परिवारका ३५ जनालाई उक्त बस्तीलाई नजिकैको सामुदायिक विद्यालयमा राखिएको थियो ।