काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संवैधानिक ‘कू’ र पार्टीको संगठनलाई ध्वस्त बनाउनई मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भास तर्फ लैजान उद्धत रहेको आरोप लगाएका छन् ।
जनक्रान्तिबाट लोकतान्त्रीक गणतन्त्र, संघीयता, समावेशी, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धी भएको भन्दै उनले यी उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्ने क्रममा पार्टी अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी दुई पटक प्रतिनिधिसभा विघटन गरी संवैधानिक ‘कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको आरोप लगाए ।
१४ औं गणतन्त्र दिवसको उपलक्षमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा के.पी. ओलीले आफूलाई स्थापित गरेका बताए ।
‘हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेका छन्’, उनले भने, ‘अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेका छन् ।’
उनले पार्टी भित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोंच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पुर्वक बैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्न, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन, प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु आग्रह गरेका छन् ।
यस्तै, उनले कोरोना महामारीको नियन्त्रणका लागि एकताबद्द भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्बक अगाडि बढ्न उनले सबैमा आह्वान गरेका छन् ।