हामीलाई ज्यानको सुरक्षा छैन अब हामी काममा आउदैनौ स्वास्थ्यकर्मीको भनाइ
बुटवल । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीमाथि विहीबार साँझ आक्रमण भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।
लाठि चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।
त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने ।
चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ । पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।
पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।
अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् ।
अस्पतालमा सुरक्षा दिइरहेका प्रहरीका हवल्दार निर्मल नेपालीका अनुसार मृतकका आफन्तले बिरामी कुरुवा, स्वास्थ्यकर्मीमाथि लाठीसहित हातपात गरेका थिए ।
अहिले भने अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।